देश

पाँच महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर


काठमाडौँ – पाँच महिनादेखि बन्द रहेको राष्ट्रदेव पशुपतिनाथको मन्दिर आजबाट खोलिएको छ । दोस्रो लहरमा आएको कोरोना संक्रमितको संख्या बढेसँगै बन्द गरिएको मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

पशुपतिनाथको मन्दिर आज बिहान ६ः०० बजेदेखि खुला गरिएको हो । भदौ २६ गते परेको ऋषि पञ्चमीको दिनलाई लक्षित गरी मन्दिर खोल्न लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

वैशाखदेखि बन्द रहेको मन्दिरमा भीड हुनसक्ने भन्दै कोषले आवश्यक सुरक्षा सतर्कता मिलाएको छ । भीडलाई नियन्त्रण र दर्शनका लागि सहज गराउन कर्मचारी खटाइएको छ । मन्दिर परिसरमा रहेका पिण्डेश्वर, सन्तानेश्वर, सन्तापहरेश्वर, ज्वरेश्वर, नीलकण्ठलगायत सबै देवस्थलमा भक्तजनलाई पङ्क्तिवद्व भएर रहने व्यवस्था मिलाएको छ । पशुपतिनाथसँगै गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ ।