विदेश

काबुलमा महिलाहरुको प्रदर्शनमा तालिबानको हस्तक्षेप, अश्रु ग्यास र पेपर स्प्रे प्रहार


काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका छन् । अफगानिस्तानका अधिकारवादी महिलाहरुले काबुलमा अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन् ।

महिला अधिकारवादी समूहले आफूहरुको प्रदर्शनमा तालिबानले अश्रु ग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन् । महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानका अधिकारीले हस्तक्षेप गरेका हुन् । महिलाहरुले काम गर्न पाउनुपर्ने र सरकारमा आफूहरुको पनि सहभागिता हुनुपर्ने माग गर्दै आएका छन् ।

तालिबानले महिलाहरु सरकारमा सामेल हुन पाउने तर मन्त्री पद भने नदिइने बताएको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि महिला अधिकारको क्षेत्रमा भएका प्रगतिहरु संकटमा आएको भन्दै विश्वभर चासो र चिन्ता व्यक्त भइरहेको छ ।