देश

लाइसेन्स परीक्षा आजबाट पुनःसञ्चालनमा


काठमाडौँ – बागमती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र लाइसेन्सको परीक्षा आजदेखि पुनःसञ्चालन गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा स्थगन गरिएका थिए ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा ट्रायल संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने मन्त्रालयले जनाएको छ । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका छन् ।

परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका सर्त मान्नुपर्ने छ । तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामासमेत सहभागी नगराउने प्रावधान राखिएको छ ।