राजनीति

माधवको अध्यक्ष छाड्ने दाबीमा रावल र भट्टराईको मुखभरी जवाफ, दोस्रो तहलाई नेतृत्व कसले देला ?(भिडियोसहित)


काठमाडौँ – संकटमा परेका बेला नेतृत्व हस्तान्तरणको कुरा उठाउने र समय आउँदा फेरि आफै तम्सीने नेताहरुका कारण नेतृत्वमा पुस्तान्तरण कुरामा मात्रै सीमित बनेको छ । दोस्रो पुस्ताले पनि पहिलो पुस्ताबाट नेतृत्व हत्याउन कोसिस नगर्दा यो स्थिति आएको देखिन्छ ।

भर्खरै मात्रै एमालेबाट विभाजित बनेर नेकपा (एकिकृत समाजवादी) बनाएका माधवकुमार नेपालले शनिबार एक कार्यक्रममा बोल्दै भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भए अध्यक्ष छोड्न तयार छु ।’

एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि पटकपटक असन्तुष्टि व्यक्त गर्दै आएका नेपालले पछिल्लो करिब ६ महिना लामो रस्साकस्सीपछि केही नेताहरुलाई साथमा लिएर नयाँ पार्टी घोषणा गरेका हुन् । तर दोस्रो पुस्ताका सबै नेताले साथ छोडेपछि नेपालले पार्टीमा आए हाललाई अध्यक्ष छोड्ने र केही बर्षपछि राजनीति छोड्ने घोषणा गरेका छन् ।

एमालेमा रहँदा ओली बराबरीकै हैसियतको अध्यक्ष हुनु पर्ने माग गरेका नेपालले नयाँ पार्टी बनाएपछि भने नेतृत्व हस्तान्तरणको कुरा गरेका हुन् । तर उनको कुरालाई नयाँ पार्टी बनाउदा साथ छोडेर एमालेमै रहेका नेताहरुले भने पत्याएका छैनन् । माधव समुहबाट अलग्गीएका एमाले सचिव योगेश भट्टराईलेआफैसंग भएकालाई बनाएर उदाहरण दिए राम्रो हुने कटाक्ष गरेका छन् । उस्तै कटाक्ष यसअघि विवाद समाधान गर्न माधव समुहको तर्फबाट कार्यदलको संयोजक बनेका उपाध्यक्ष भीम रावलको पनि छ ।

पहिले नयाँ पार्टी बनाउन उक्साएर पछि धोका दिएको भन्ने माधव नेपालको भनाईप्रति रावलले कसैले धकेल्दा धकेलिने भए पछाडी फर्काउदा पनि फर्किनु पर्ने उल्लेख गरेका छन् । तर यी दोस्रो तहका नेताहरुले पहिले ओलीमाथि जस्तो आरोप लगाउँथे अहिले माधवमाथि पनि त्यही गर्न थालेको भनेर आरोप लाग्दै आएको छ । कतिपयले भने दोस्रो पुस्तामै नेतृत्व लिन सक्ने ताकत नभएको विश्लेषण गरिरहेका छन् ।

नेतृत्व हस्तान्तरणको कुरा एमाले अध्यक्ष ओलीले पनि नउठाएका होइनन् । बेलाबेला दोस्रो पुस्तामा नेतृत्व जानुपर्ने बताउँदै आएका ओलीले अध्यक्षमै रहीरहन ७० बर्षे उमेरहदलाई नै संसोधन गरेर फेरि आगामी महाधिवेशनबाट कार्यकाल दोहो¥याउने तयारीमा छन् । अहिले त उनका खरो प्रतिस्पर्धि मानिएका माधवकुमार नेपाल नै फरक पार्टीको अध्यक्ष बनेपछि एमालेमा उनलाई टक्कर दिने अनुहार भेटिएको छैन । नत, दोस्रो पुस्ताले नेतृत्व पाउने कुनै लक्षण मै देखिन्छ । नेतृत्व हस्तान्तरणको सवालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बेलाबेला गुलियो अभिव्यक्ति दिन्छन् र युवाहरुलाई लठ्याउँछन् । शनिबार पनि अध्यक्ष प्रचण्डले आफु ३८ सालदेखि नेतृत्वमा रहेको सम्झिदै अब युवाको काँधमा जाने दोहो¥याएका छन् ।

नेतृत्व हस्तान्तरणको कुरा गर्ने प्रचण्ड पनि आमागी महाधिवेशनबाट फेरि अध्यक्ष हुने उनी निकटस्थहरु बताउँछन् । अरुबेला सुन्दर आश्वासन बाँढ्ने र हस्तान्तरणका बेला योग्य विकल्प नदेखिएको भन्दै आफोतीर दुनो सोझा्याउने परिपार्टी नेपाली नेताहरुको कायमै छ ।

जबकि ३८ सालमा युवा संगठनको नेतृत्व गरेका प्रचण्ड ४८ सालमा नेकपा एकताकेन्द्र मसालको महामन्त्री हुँदै माओवादी केन्द्रको अध्यक्षसम्म आईपुग्दा ३० बर्ष बढी एकलौटी रुपले पार्टीको नेतृत्व गरेका छन् । उता ७५ बर्षका काँग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति हुने दाउमा छन् । १७ पटक हारेको इतिहास बनाएका रामचन्द्र पौडेलमा समेत नेतृत्वको लालसा जिवितै छ ।

औसत आयु ६९ बर्ष रहेको देशमा हरेक पार्टीको नेतृत्वमा ७० बर्ष हाराहारीका वृद्धहरु छन् । नत युवाहरु नै बुढाहरुबाट नेतृत्व खोस्ने हिम्मत राख्छन् । बरु उनीहरुसंग पद र शक्तिको बाग्रेनिङ गरेर आफुलाई सुरक्षित महसुस गरिरहेका छन् ।