देश

अफगानिस्तानबाट बाहिरियो बेलायती सेना


काठमाडौँ – अफगानिस्तानबाट सेना र नागरिक निकाल्ने मिसनअन्तर्गत बेलायतको अन्तिम सैन्य विमान शनिबार अबेर राति काबुल विमानस्थलबाट उड्यो ।

योसँगै पछिल्लो २० वर्षदेखि अफगानिस्तानमा बेलायती उपस्थिति अन्त्य भएको छ । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘बेलायती सैनिकका साथ अफगानिस्तानबाट हाम्रो सैन्य विमानको अन्तिम उडान भयो ।’

अफगानिस्तानस्थित बेलायती राजदूत पनि यही अन्तिम उडानमार्फत स्वदेश फर्किसकेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति अन्त्य भएको पुष्टि गरेका छन् ।

आइतबार भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानमा जति पनि बेलायती सैनिक, कूटनीतिज्ञ र सार्वजनिक सेवाका अधिकारी थिए, ती सबै बाहिरिइसके।’

यही अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेको छ।