मौसम

नेपालमा पुनः मनसुन सक्रिय, देशका विभिन्न नदी र खोलामा बाढी, पहिरो

योहो संवाददाता

काठमाडौँ – नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको जनाएको छ । यसैविच, रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, लगातारको झरीका कारण पहिरो जाँदा मुग्लिन–नारायणघाट सडक खण्ड बन्द भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै बन्द भएको प्रहरीले जनाएको छ । लगातार झरी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएकाले एक्स्काभेटर प्रयोग गर्न समेत समस्या भएको छ ।