काठमाडौँ – म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको बाढीले एक घर बगाएको छ । दूधेखोलामा आज बिहान आएको बाढीले एक घर बगाउनुका साथै, ४५ घर जोखिममा परेका छन् ।
बाढीले दुधेखोलामा बस्दै आएकी दीपा पुनको बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पुनको ब्लकले गाह्रो लगाएको र टिनको छाना भएको ६ कोठामध्ये दुई वटा कोठा बगाएको र घरको अन्य कोठाहरु पनि चर्किएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने, “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।
करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ ।


प्रतिक्रिया