देश

आज गाईजात्रा, दिवंगत आफन्तको सम्झनामा मनाइँदै


काठमाडौँ – आज गाईजात्रा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन छ । उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । पहिले धार्मिक रुपमा मनाईने यो पर्व अहिलेका समयमा भने व्याङ्ग्यात्मक वा ठट्यौलीको रुपमा पनि मनाईने गरेको छ । यसले के देखिन्छ भने चाडपर्व पनि समय अनुसार नै परिवर्तन हुँदै गएको छ ।

सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।