राजनीति

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पार्यो, मुख्य प्राथमिकतामा कोरोना नियन्त्रण (पूर्णपाठ)

योहो संवाददाता

काठमाडौँ – शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ ।

सरकारले आफ्नो प्राथमिकतामा कोरोना नियन्त्रणलाई राखेको छ । यसका अतिरिक्त संविधान संशोधन, प्रशासनिक सुधार एवं आर्थिक सामाजिक एजेन्डाहरुका बारेमा पनि पनि साझा न्यूनतम कार्यक्रममा व्याख्या गरिएको छ । काँग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले दुईसाता लगाएर तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शुक्रबार बालुवाटारमा शीर्ष नेताहरुलाई बुझाएको हो । कार्यदलमा डा. मिनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य थिए ।

कार्यदलले तयार पारेको संयुक्त सरकार सञ्चालनको साझा न्यूनतम कार्यक्रमको मस्यौदा यस्तो छ :

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

१. विषय प्रवेश

नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक जनआन्दोलन, शसस्त्र सङ्घर्ष, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानको गौरवशाली इतिहासलाई स्मरण एवम् सहीद तथा वेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै,

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वभिमानदलाई अक्षुण्ण राख्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, नागरिक र मौलिक अधिकार, लोकतन्त्र, समानुपातिक समावेशिता, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य, विधिको शासन, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरू, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको आधारभूत मानव अधिकारको संरक्षण गर्दै,

राष्ट्रिय हीत, सामाजिक आर्थिक न्याय र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहँदै समुन्नत सङ्घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेदरहित, सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्दै,

जनादेशविपरीत असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरी सर्वसत्तावादी, अलोकतान्त्रिक र अधिनायकवादी रूपमा शासन सत्ता सञ्चालन गर्ने प्रतिगामी प्रवृत्तिको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनालाई आत्मसात गर्दै,

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरू तल उल्लेखित साझा न्यूनतम कार्यक्रममा सहमत भएका छौँ ।

२. संयुक्त सरकारका प्राथमिकताहरू

१. संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने ।

२. संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने ।

३. शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।

४. राजनीतिक दलहरूबिच सहमतीमा संविधान संशोधनका लागि पहल गर्ने ।

५. सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने ।

६. सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च आर्थिक विकासमा जोड दिने ।

७. उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने ।

८. कोभिडका कारण सङ्कटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने ।

९. बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा जोड दिने ।

१०. जनताको समृद्धिका लागि राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन गर्ने ।

११. आपसी संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने ।

३. संयुक्त सरकारका नीति र कार्यक्रमहरू

३.१. कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति

१. आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने ।

२. स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

३. कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने ।

४. कोभिड–१९ को सम्भावित तेस्रो लहरको विरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस�