काठमाडौं– सरकार परिवर्तन भयो, देशको बागडोर सम्हाल्ने अनुहार नयाँ आए । जनताले ३५ वर्षसम्म सत्ताको रजाइँ गरिरहेका पुराना नेता र दललाई पाखा लगाए । तर नागरिकको अवस्था र भोगाइमा भने कुनै फेरबदल आएन । झण्डै दुई तिहाइको शक्तिशाली सरकार सञ्चालनको जिम्मा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त मौन नै थियो, तर प्रतिपक्षी दलहरू पनि जनजीविकाको सवालमा चुइँक्क बोल्न सकेका छैनन् । केही यस्ता मुद्दा छन्, जहाँ सरकारले सम्भव भएका कामसमेत अघि बढाएको छैन भने प्रतिपक्षले आवाज उठाउँदासमेत कार्यान्वयन हुने अवस्था देखिँदैन ।
१. बढ्दो महँगी, मौन सरकार ः
चालु आर्थिक वर्षमा मूल्यवृद्धि निकै माथि पुगेको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८२÷८३ को असोजमा यस्तो मुद्रास्फीति जम्मा १.४७ प्रतिशत मात्र थियो । चालु आवको तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १.६७ प्रतिशतमा सीमित थियो । महँगी बढ्नुको प्रमुख कारण खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा आएको उच्च वृद्धि हो । मुलुकमा बलियो सरकार त छ, तर अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जासमेत बढ्न सकेको छैन । बजारमा अहिले सामान्य नागरिकलाई दैनिक गुजारा चलाउनै धौ–धौ परेको छ ।


प्रतिक्रिया