Breaking

बालेन अध्यादेशकै रफ्तारमा, आठ थपिँदै, सदनलाई उपेक्षा, राष्ट्रपतिले के गर्लान् ? सोबिता भूमिकाविहीन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकार नै एकपछि अर्को अध्यादेशको सहारा लिन थालेको छ । संसद्को हिउँदे अधिवेशन बोलाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने बेला सरकार भने संसद् अधिवेशन सुरु हुनुअघि नै विभिन्न कानुन संशोधनका लागि अध्यादेश ल्याउने तयारीमा जुटेको छ । संसद् बैठक बोलाउनुपर्ने र सदनमै गहन छलफल गरेर मात्र कानुन निर्माण गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले लगानी तथा पूर्वाधार क्षेत्रका कानुन संशोधन गर्ने अध्यादेशसहित केही नयाँ अध्यादेश ल्याउने तयारी गरेको हो । यसअघि मन्त्रिपरिषद्बाट सिफारिस गरिएका तीनवटा अध्यादेश भने राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा छन् । सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपणका लागि अध्यादेश सिफारिस गरेको छ । मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो । अध्यादेशमा अध्यक्षसहित तीन सदस्यीय आयोग गठन गरी तीन महिनाभित्र काम सम्पन्न गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगले आन्दोलनसँग सम्बन्धित विचाराधीन मुद्दा तथा प्रहरी अनुसन्धानमा रहेका उजुरी संकलन गरी क्षतिको यकिन गर्ने र मेलमिलापको प्रक्रिया अघि बढाउने प्रस्ताव गरेको छ ।