Breaking

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

योहो संवाददाता

काठमाडौं– यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत नै खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसैबीच, दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ ।