काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा आएको आकस्मिक बाढीले तटीय क्षेत्रमा असर पु¥याएको छ । आइतबार बिहानै आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत, सल्लेरीगाउँलगायतका क्षेत्रमा क्षति गरेको छ ।
बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।
चुमनुब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीकण्डकी थुनिने र बाढी आउने क्रम भइरहेको छ । जसले गर्दा तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । त्रिशूली नदी किनारसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया