काठमाडौं । अनेकौ चुनौती सामना गर्दै हजारौँ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरेकी क्यानडाकी माया मेयर सम्मानित भएकी छन् ।
माया टाइप २ ए भोन भन विलेब्रान्डबाट प्रभावित छिन् । उनी रक्तस्रावसम्बन्धी रोगसँग जुधिरहेकी छन् । त्यसैले उनका लागि यो केवल हिमाल आरोहण थिएन । आफ्नै शरीरमा रहेको रक्तस्रावसम्बन्धी स्वास्थ्य अवस्थालाई चुनौती दिँदै संसारभरका महिला तथा बालिकाको आवाज उठाउने अभियान थियो । त्यसैले त दोस्रो पटक नेपाल आएकी मायाका लागि यो पटकको भ्रमण जीवनभर सम्झनलायक बनेको छ ।
यसरी विश्वकै आठौँ अग्लो मनास्लु हिमाल चढ्ने मायाको यो साहसलाई नेपाल हेमोफिलिया सोसाइटीले सम्मान गरेको छ । आफ्नै रक्तस्रावसम्बन्धी स्वास्थ्य अवस्थालाई चुनौतीका रूपमा होइन, विश्वभरका रक्तस्रावसम्बन्धी समस्या भएका महिला तथा बालिकाको आवाज उठाउने अभियानका रूपमा अघि बढाउँदै हिमाल आरोहणमार्फत जनचेतना फैलाउँदै आएकी क्यानेडियन पर्वतारोही तथा रक्तस्राव सम्बन्धी समस्या भएकी महिला मायालाई नेपाल हेमोफिलिया सोसाइटीले सम्मान गरेको हो ।
नेपालमा आयोजना गरिएको अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा मायालाई उनको साहस, समर्पण तथा रक्तस्रावसम्बन्धी समस्याबारे विश्वव्यापी जनचेतना अभिवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै सोसाइटीले सम्मान गरेको हो ।
हेमोफिलिया तथा रक्तस्रावसम्बन्धी समस्या के हो ?
हेमोफिलिया तथा अन्य रक्तस्रावसम्बन्धी समस्या रगत जम्ने प्रक्रियामा आवश्यक पर्ने क्लटिङ फ्याक्टर वा अन्य रगत जमाउने तत्वमा कमी वा खराबी हुँदा हुने रक्तस्राव सम्बन्धि अवस्थाहरू हुन् । यस्तो अवस्थामा चोटपटक लाग्दा रगत सामान्यभन्दा लामो समयसम्म बगिरहन सक्छ । कतिपय अवस्थामा बाहिरी चोट नदेखिए पनि शरीरभित्र रक्तस्राव हुन सक्छ ।
यसका प्रमुख लक्षणमा सानो चोटमा पनि लामो समयसम्म रगत बग्नु, बारम्बार नाकबाट रगत आउनु, शरीरमा सजिलै नीलडाम पर्नु, जोर्नी तथा मांसपेशीमा सुन्निने वा दुख्ने, अत्यधिक महिनावारी रक्तस्राव हुनु र चोट वा शल्यक्रियापछि रक्तस्राव लामो समयसम्म नरोकिएर रहनु पर्छन् । गम्भीर अवस्थामा आन्तरिक रक्तस्रावले ज्यानसमेत जोखिममा पार्न सक्छ । समयमै औषधि उपलब्ध नभए बिरामीको तुरुन्तै ज्यानै समेत जान सक्छ ।
हेमोफिलिया मुख्यतः वंशाणुगत रक्तस्रावसम्बन्धी समस्या हो । फ्याक्टर ८ को कमीलाई हेमोफिलिया ए र फ्याक्टर ९ को कमीलाई हेमोफिलिया बी भनिन्छ । त्यस्तै, भन विलेब्रान्ड रोग महिला र पुरुष दुवैमा देखिन सक्ने रक्तस्रावसम्बन्धी समस्या हो ।
रक्तस्रावसम्बन्धी समस्यालाई हिमाल आरोहणसँग जोड्दै माया
मेयर टाइप २ ए भन विलेब्रान्डबाट प्रभावित छिन् । उनले आफ्नो व्यक्तिगत अनुभवलाई विश्वभरका रक्तस्रावसम्बन्धी समस्या भएका महिला तथा बालिकाको आवाजसँग जोड्दै प्रोजेक्ट एलिभेट हर अभियानमार्फत सचेतना फैलाउँदै आएकी छन् । उनको अभियानको एउटा महत्वपूर्ण माध्यम हिमाल आरोहण हो । रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्तिले पनि आफ्नो सपना र लक्ष्य पूरा गर्न सक्छन् भन्ने सन्देश दिन उनले साहसिक पर्वतारोहणलाई जनचेतनाको माध्यम बनाएकी हुन् । उनले यो रोग, नेपाल भ्रमण र सोसाइटीले गरेको कामको प्रसंसा गरेकी छन् ।
यसै अभियानअन्तर्गत उनले हालैमा नेपालको विश्वकै आठौं अग्लो मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । उनले करिब ६,४०० मिटर उचाइसम्म सफलतापूर्वक आरोहण गरे पनि प्रतिकूल मौसम, अत्यधिक हिमपात तथा चक्रवातका कारण सुरक्षालाई प्राथमिकता दिँदै शिखर पुग्नुअघि नै अभियान स्थगित गर्नुपरेको थियो ।
शिखरमा पुग्न नसके पनि उनको साहसिक यात्राले रक्तस्रावसम्बन्धी समस्याबारे जनचेतना फैलाउने उद्देश्यलाई थप बल दिएको छ । विशेषगरी महिलामा देखिने रक्तस्रावसम्बन्धी समस्याहरू अझै पनि पर्याप्त रूपमा पहिचान र उपचार हुन नसकेको अवस्थामा मेयरको अभियानले यस विषयलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपालमा पनि ठूलो चुनौती
नेपालमा हेमोफिलिया तथा अन्य रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि उपचारको पहुँच अझै चुनौतीपूर्ण छ । शरीरमा रगत जमाउन आवश्यक क्लटिङ फ्याक्टरको कमीका कारण हुने हेमोफिलिया मुख्यतः वंशाणुगत रोग हो । नेपाल हेमोफिलिया सोसाइटीका उपाध्यक्ष रामकृष्ण बोगटीका अनुसार नेपालको जनसंख्याको अनुपातका आधारमा करिब ५ हजारजति हेमोफिलियाका बिरामी हुनसक्ने अनुमान भए पनि हालसम्म करिब ९५० जना मात्र सोसाइटीको सम्पर्कमा आएका छन् । जनचेतनाको कमी, परीक्षणमा कठिनाइ र उपचार सेवामा सीमित पहुँचका कारण ठूलो संख्यामा बिरामी अझै पहिचान बाहिर रहेको उनको भनाइ छ । नेपालमा आवश्यक एन्टी–हेमोफिलिक फ्याक्टर अत्यन्त महँगो हुनुका साथै सहज रूपमा उपलब्ध नहुने भएकाले धेरै बिरामी विश्व हेमोफिलिया महासंघ (ध्ँज्)बाट प्राप्त हुने मानवीय सहयोगमा निर्भर छन्।
महिलाको आवाजलाई विशेष प्राथमिकता
हेमोफिलियालाई सामान्यतया पुरुषमा बढी देखिने रोगका रूपमा बुझिए पनि महिलाहरू पनि विभिन्न प्रकारका रक्तस्रावसम्बन्धी समस्याबाट प्रभावित हुन सक्छन् । विशेषगरी भन विलेब्रान्डबाट रोग महिला र पुरुष दुवैमा देखिन्छ । महिलामा अत्यधिक महिनावारी रक्तस्राव, प्रसूतिको समयमा रक्तस्राव तथा शल्यक्रियापछि लामो समयसम्म रक्तस्राव हुने जस्ता समस्या देखिन सक्छन्। तर यस्ता समस्यालाई सामान्य अवस्थाका रूपमा लिने प्रवृत्ति, परीक्षणको कमी र जनचेतनाको अभावका कारण धेरै महिला अझै पनि सही पहिचान र उपचारबाट वञ्चित छन् । विर अस्पतालका रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरकुमार सिंह, रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञले यो रोगको उपचार भनेको स्याहार रहेको बताएका छन् ।
नेपाल हेमोफिलिया सोसाइटीको सम्मान
नेपाल हेमोफिलिया सोसाइटीले माया मेयरको नेपाल भ्रमण र उनको अभियानलाई रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्ति, विशेषगरी महिला तथा युवाका लागि प्रेरणादायी अवसरका रूपमा लिएको छ । कार्यक्रममा उनको अनुभव, हिमाल आरोहणको यात्रा तथा रक्तस्रावसम्बन्धी समस्यासँगको व्यक्तिगत अनुभवबारे अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा हेमोफिलिया भएका व्यक्ति, अभिभावक, युवा तथा नेपाल हेमोफिलिया सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोसाइटीका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष प्रा.डा. दिपक शाक्यले बिरामीले नेपालमा उपचार पाउन निकै सास्ती भोग्नु परिरहेको बताए । यस्तै देशमा धेरै बिरामी रहेको तर बाहिर आउन नसकेको बताउँदै उनले नेपालमा सम्पर्कमा नआएको अनुमानित ३ हजार बढि बिरामी हुनसक्ने बताएका छन् ।
सोसाइटीले मेयरको सम्मान गर्दै रक्तस्रावसम्बन्धी समस्याबारे विश्वव्यापी रूपमा जनचेतना फैलाउन उनले पु¥याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको हो । माया मेयरको यात्रा एउटा पर्वतारोहणको कथा मात्र नभई स्वास्थ्य अवस्था, साहस, आत्मविश्वास र सामाजिक सचेतनालाई एउटै अभियानमा जोड्ने उदाहरण बनेको छ । मनास्लुको उचाइसम्म पुगेको उनको यात्राले नेपालमा पनि रक्तस्रावसम्बन्धी समस्याबारे थप बहस र जनचेतना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया