देश

त्रिपुरेश्वर घटनामा ट्वीस्ट : अर्कैको लाइसेन्स भेटेपछि खैलाबैला, गल्ती ट्राफिक प्रहरीको कि चालकको ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ – काठमाडौँको त्रिपुरेश्वर— जहाँ पछिल्लो साढे दुई महिनाको अवधिमा आत्मदाहको प्रयास गरेका दुवै जना युवाले ज्यान गुमाएका छन् । यसअघि गत असारमा ‘नो–पार्किङ’ क्षेत्रमा मोटरसाइकल पार्क गरेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएपछि उत्पन्न विवादका कारण मोटरसाइकल चालक गणेश नेपालीले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । सोमबार फेरि त्यही ठाउँमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको मिनीबसभित्रै चालकले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरे । घटनालगत्तै चालक अर्जुन दोङलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएकोमा मंगलबार बिहान उनको मृत्यु भयो । उनको शरीर ९० प्रतिशतभन्दा बढी जलेको अस्पतालको भनाइ छ ।
यस घटनालाई लिएर मृतकका परिवारदेखि यातायात मजदुर र व्यवसायीहरू आक्रोशित बन्दै प्रदर्शनमा उत्रिएका छन् । मृतक अर्जुन दोङको परिवार र स्वतन्त्र चालक संघ नेपालले मंगलबार अस्पताल परिसरबाहिर प्रदर्शन गरेका हुन् ।