देश

‘फेस अफ लिटल स्टार २०८३’ आयोजना हुदै

योहो संवाददाता

काठमाडौं– सुनौलो संसार म्यानेजमेन्ट प्रालिको आयोजनामा बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित ‘फेस अफ लिटल स्टार २०८३’ सिजन १ प्रतियोगिता हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘ट्यालेन्ट विथ पर्सनालिटी’ को मूल अवधारणासहित कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । आजका बालबालिकामा मोबाइल तथा डिजिटल उपकरणको अत्यधिक प्रयोग बढ्दै गएकाले उनीहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्ने मुख्य लक्ष्यका साथ यो मञ्च तयार पारिएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै प्रालिका कार्यकारी प्रमुख (सीईओ) नारायण बहादुर थापाले बालबालिकालाई डिजिटल दुनियाँबाट टाढा राखेर कला, संगीत, नृत्य, अभिनय र वक्तृत्वकलाजस्ता सिर्जनात्मक क्षेत्रतर्फ आकर्षित गर्न यो प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । सन् २००६ देखि इभेन्ट व्यवस्थापनमा सक्रिय रहँदै आएका थापाले विगतका अनुभवलाई समेटेर यस पटकको कार्यक्रमलाई अझ बढी व्यवस्थित र बालबालिकामैत्री बनाइएको दाबी गरेका छन् । प्रतियोगितामा ७ देखि ९ वर्ष (समूह ‘ए’) र १० देखि १२ वर्ष (समूह ‘बी’) उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन् । सहभागीहरूलाई डान्स, सिङ्गिङ, एक्टिङ, फेशन तर्था ‍याम्प वाक, पब्लिक स्पिकिङ, लिडरसिप र सोसल एटीकेटजस्ता विषयमा देशका ख्याति प्राप्त विज्ञहरूबाट विशेष प्रशिक्षण दिइनेछ ।

प्रतियोगितामा सहभागी हुन दुई सय रुपैयाँ शुल्क तोकिएको छ भने अडिसनबाट छनोट भएकाहरूका लागि प्रशिक्षण शुल्क १५ हजार रुपैयाँ निधार्रण गरिएको छ । तीन हप्तासम्म साताको चार दिन (मंगलबार, बिहीबार, आइतबार र बुधबार) अडिसन सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, क्राउन र तीन जनाका लागि काठमाडौं पोखरा हवाई टिकटसहित दुई रात तीन दिनको रिसोर्ट प्याकेज प्राप्त गर्नेछन् ।

साथै, विजेता बालबालिकाका अभिभावकका लागि पालर्र, बेकरी र जिम तालिमको सुविधा उपलब्ध गराइएको छ भने प्रथम र द्वितीय रनर अपलाई पनि ट्रफी, प्रमाणपत्र, पोखरा भ्रमणको प्याकेज र विभिन्न उपहारको व्यवस्था गरिएको छ ।