Breaking

गगन–देउवा वारपारमा, कांग्रेसको वैधानिकता संकटमा, देउवाको शक्ति, गगन नभेट्नुको कारण (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विद्रोह गरेर विशेष महाधिवेशनबाट आएका सभापति गगन थापालाई आगामी असोजमा १५औं महाधिवेशन गर्नुपर्ने बाध्यता छ । तर, महाधिवेशन रोक्न भन्दै इतर पक्ष सर्वोच्च अदालत पुगेपछि सर्वोच्चको आदेशले कतै पार्टीको आधिकारिकता नै गुम्नेदेखि विघटनसम्मकै खतरा रहेको देखिएको छ । थापाले महाधिवेशन एक दिन पनि नसार्ने दाबी गरिरहे पनि अदालतको नयाँ प्रक्रियाले भने राजनीतिक र कानुनी दुवै अनिश्चितता थपेको छ । एकातिर संस्थापन पक्ष निर्वाचन समितिमार्फत अधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतिर असन्तुष्ट इतर पक्षले अदालतको ढोका ढकढक्याएको छ । जसले गर्दा दुवै पक्ष अब ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । चार वर्षमा महाधिवेशन गुर्न पर्ने व्यवस्था विधानमा रहेको कांग्रेसले गएको मंसिरमै महाधिवेशन गर्नुपर्नेमा पूर्वसभापति शेरबहादुर देउवाले विशेष अधिकार प्रयोग गर्दै एक वर्ष समय लम्बाउँदै पाँच वर्ष पु¥याएका छन् । त्यो समय पनि सकिन लाग्दा विशेष महाधिवेशनबाट आएका गगन मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यतामा छन् । ६ महिना समय थप्ने संवैधानिक अधिकार रहे पनि त्यसका लागि कांग्रेसले विधान संशोधन गर्नुपर्ने हुन्छ, जुन तत्कालका लागि सम्भव देखिँदैन । सर्वोच्चले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा र गगन पक्षको वार्ताको ढोका मात्र बन्द भएन, पुनः आधिकारिकतामा अदालतले निस्सा दिएपछि उनीहरू सर्वोच्चको फैसला पर्खन बाध्य छन् ।