देश

कांग्रेस ः सर्वोच्चको किचलो, गगन–देउवाको आ–आफ्नै दाउ, रोकिँदै महाधिवेशन, शेखरको त्यो प्रस्ताव (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– देशमा व्याप्त असन्तुष्टिकै कारण ‘जेनजी’ विद्रोह भएको स्वीकारेका नेपाली कांग्रेसका सभापति गगन थापा आन्दोलनलाई आत्मसात् गर्दै रूपान्तरित भएर अगाडि बढे । तर, उनको यो प्रयासलाई पार्टीका पुराना नेताहरूले रुचाएनन् । विशेष महाधिवेशनदेखि नै पार्टीभित्र संघर्ष गर्दै आएका सभापति गगन, इतरपक्षको घेराबन्दीका बाबजुद आफ्ना एजेन्डाबाट विचलित भएका छैनन् । केन्द्रीय समिति बैठकबाट विभिन्न राजनीतिक सन्देश दिएका गगनले पार्टी मिलेरै जानुपर्नेमा जोड दिँदै आएका छन् । तर, पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएदेखि नै भेट्न चाहेका गगनलाई देउवाले बेवास्ता गरिदिए । सामाजिक सञ्जालमा भाइरल भएकाहरूसँग टिकटक बनाउन भ्याएका देउवाले नेता शेखर कोइरालासँग त भेट गरे, तर गगनको भेट्ने प्रयास भने विफल भयो । यसले पार्टी एकतामा देउवासँगै पुराना नेताहरू नरहेको देखिन्छ । राष्ट्रिय भेलाबाटै ललकारेका इतरपक्षका नेताहरू १५औं महाधिवेशनको विरुद्धमा उभिँदै सर्वोच्च अदालत पुगेका छन् । तर महाधिवेशनको गतिविधि तत्काल रोक्न माग गर्दै इतर पक्षले गरेको निवेदन शुक्रबार साँझ फिर्ता ल्याएको छ । पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पेस भएको निवेदन सच्याउने भन्दै फिर्ता ल्याइएको हो । सर्वोच्चले उक्त निवेदन अध्ययनका लागि राख्ने र बाँकी प्रक्रिया सोमबार मात्र अघि बढाउने जानकारी गराएको थियो ।