काठमाडौं– चौतर्फी चासो र चर्चाकाबीच प्रधानमन्त्री बालेन शाह शनिबार बिहानै कास्कीबाट पनि स्थलमार्ग हुँदै मुस्ताङ यात्रामा निस्किए । श्रीमती, छोरी र पर्यटनमन्त्री खड्गराज पौडेललाई साथमा लिएर मुस्ताङ उक्लेका प्रधानमन्त्रीको यो भ्रमणलाई निजी भनिएको छ । यद्यपि भ्रमणको विस्तृत विवरण सार्वजनिक नगरिएकाले राजनीतिक र कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइनै रहेका छन् । २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि मुस्ताङले जसरी चर्चा पाएको थियो, बालेनको यो भ्रमणले पनि उस्तै तरंग पैदा गरेको छ । शुक्रबार र शनिबारको यात्रा हेर्दा प्रधानमन्त्रीको यो भ्रमणको प्रबन्ध नेपाली सेनाले गरेको पाइएको छ ।
मुस्ताङ प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेनले शुक्रबारको रात कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताए । परिवारसहित पुगेका उनले त्यहाँ कुनै तामझाम देखाएनन् । रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीको व्यवहार अत्यन्तै सरल थियो । उनकी छोरी स्थानीय बालबालिकासँग सामान्य रूपमै खेलिन् भने प्रधानमन्त्रीले खानपानमा पनि कुनै विशेष माग गरेनन् । मेनुमा जे छ त्यही खाए । विशेषगरी स्थानीय उत्पादन सिस्नु, कोदाको रोटी र मकैको रोटी मन बालेनले मन पराएको सञ्चाल बताउँछन् । यद्यपि बालेन उपस्थित भएपछि उक्त रिसोर्टको सुरक्षाको घेरा भने कडा पारिएको थियो, जसको व्यवस्थापन नेपाली सेनाले गरिरहेको थियो ।
देश


प्रतिक्रिया