काठमाडौं– गत वर्षको भदौदेखि यस वर्षको भदौसम्म आइपुग्दा देशमा कसैले सोच्दै नसोचेका धेरै राजनीतिक घटनाक्रम परिवर्तन भइसकेका छन् । मुख्य त देशको सत्ता परिवर्तन भयो, संसदमा ९० प्रतिशत नयाँ अनुहारहरू आए । २१ सांसद लिएर प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले १८२ सिटसहित सत्ताको नेतृत्व गरिरहेको छ । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा गगन थापालाई पाएको छ । प्रधानमन्त्री बन्ने पालो कुर्दै देशको बागडोर सम्हाल्ने तयारीमा बसेका शेरबहादुर देउवा सग्लो पार्टीको नेतृत्वसमेत गर्न नपाउने अवस्थामा पुगेका छन् । तर, यी सबैका बीचमा पनि नेकपा एमालेको नेतृत्व भने अझै अपरिवर्तनशील नै छ । यस्तो अपवादमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीबाट हटे पनि उनलाई पार्टीको नेतृत्वबाट भने कसैले हटाउन सकेका छैनन् । एमालेको नेतृत्वबाट ओलीलाई हटाउन गत मंसिरमा भएको ११ औं महाधिवेशनमा विपक्षीले सक्दो प्रयास गरे तर उनी अध्यक्षमा पुनः निर्वाचित भएरै छाडे । अझै पनि पार्टीभित्र उनलाई हटाउने प्रयास जारी नै छ, तर ‘आवारा र किर्ना’को जस्तो व्यवहार देखाउनेहरूले आफूलाई हटाउन नसक्ने भन्दै ओलीकै चर्को स्वर भइरहेको छ ।
देश


प्रतिक्रिया