काठमाडौं– सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको ‘शुन्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल आपूर्ति सहज बनाउन माग गरेका हुन् । सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा ग्यासको अभाव नरहेको दाबी गरे पनि व्यवहारमा आफ्नै जिल्ला लगायत मुलुकका धेरै भागमा अभाव कायम रहेको बताए । उनले ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमनलाई तिब्र बनाउन र कतै लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी छानबिन गर्न सरकारसँग माग गरे ।
साथै, आचार्यले ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जालाई प्रवद्र्धन गर्न विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमहरूलाई प्राथमिकता दिन समेत आग्रह गरे ।
अर्का सांसद यज्ञबहादुर बोगटीले सरकारले ग्यास पर्याप्त रहेको दाबी गरिरहँदा नागरिकहरू भने रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य भएको प्रति सरकारको आलोचना गरे । उनले आयात भइरहेको भनिएको ग्यास बजारमा किन पुगिरहेको छैन भनी प्रश्न गर्दै जनताको चुलो बल्न नसक्ने अवस्थालाई सरकारले सामान्य रूपमा लिन नहुने बताए । सांसद बोगटीले ग्यासको आपूर्तिलाई तत्काल नियमित र व्यवस्थित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया