देश

सुकुम्वासीको पिडा ः जेलकै झल्को, बालेन–सुनिताको खोजी, सांसद पनि गएनन्, बालबच्चाको हरिबिजोग (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बालेन नेतृत्वको सरकारले गत शनिबार मिर्मिरे बिहानीमै काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलायो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगर प्रहरी र नेपाली सेनाको सहयोगमा १ सय ४३ घरधुरी केही घण्टामै तहसनहस पारिए । दशकौँदेखि बसोबास गर्दै आएको ठाउँबाट एक्कासी विस्थापित भएपछि घरबारविहीन सुकुमवासीहरू सरकारको शरणमा छन् । सरकारले हाल आफ्नो सम्पर्कमा आएका सुकुमवासीहरूलाई उपत्यकाका विभिन्न स्थानमा तयार गरिएका ‘होल्डिङ सेन्टर’ मा अस्थायी बासको व्यवस्था गरेको छ । योसँगै उनीहरूको वर्तमान अवस्था र सरकारले गरिदिएको प्रबन्धबारे नागरिकस्तरमा कौतुहलता बढेको छ । यही वास्तविकता बुझ्न योहो टेलिभिजनको टोली मंगलबार भत्काइएको थापाथली वस्ती हुँदै कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपाल पुग्यो । सरकारबाट सुकुमवासीको हेरचाहको जिम्मेवारी पाएको काठमाडौँ महानगरले आफ्ना विभागीय कर्मचारीहरू खटाएर त्यहाँको निगरानी गरिरहेको छ ।