देश

दुई दिने बिदाको तरंग ः कर्मचारी मख्ख, १६१ दिन छुट्टी, शिक्षा र स्वास्थ्यमा गम्भीर असर, जनतालाई के फाइदा ? (भिडियोसहित)


काठमाडौं— नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पहिले हप्तामा शनिबार एक दिन मात्रै बिदा हुने गरेकोमा अबदेखि भने आइतबार पनि बिदा थपिएपछि सातामा दुई दिन बिदा हुने भएको हो । चैत २३ गतेदेखि लागू हुने गरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण सोमबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय र शैक्षिक संस्थाहरू पाँच दिन मात्रै खोल्ने निर्णय गरेको हो । पश्चिम एसियामा जारी युद्धका कारण सिर्जित विश्वव्यापी ऊर्जा सङ्कटको बाछिटालाई स्वदेशमा कम गर्न यस्तो कदम चालिएको सरकारले स्पष्ट पारेको छ । यसका साथै कर्मचारीहरूको यातायात खर्च जोगिने र आफू तथा परिवारलाई पनि समय दिन सकिने हुँदा दुई दिनको बिदालाई व्यक्तित्व विकासमा लगाउन सक्ने हो भने यो कदमको प्रभाव सकारात्मक हुने देखिन्छ ।