खेलकुद

खुम्बु ल्होसार कप ः शेर्पा संस्कृति र खेलको उत्सव बन्यो, ८ टिमको भिडन्तमा फराक बन्यो विजेता (भिडियोसहित)


काठमाडौ— शेर्पा ल्होसारको अवसरमा आयोजित ‘खुम्बु ल्होसार कप–२०८२’ को उपाधि आयोजक महेन्द्र ज्योति भूपू विद्यार्थी मञ्च (फराक) ले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नाम्चे युथ ग्रुपलाई ३–१ गोल अन्तरले पराजित गर्दै फराकले १५ औं संस्करणको उपाधि उचालेको हो । ललितपुरस्थित एन्फा फुटबल मैदानमा दिउँसो ३ बजे भएको फाइनल खेलमा सुरुवाती अग्रता लिए पनि नाम्चेले त्यसलाई जोगाउन सकेन र फराकले नतिजा उल्ट्याउँदै उपाधि कब्जा गर्यो । खेलको छैटौं मिनेटमा नवाङ तेञ्जिङ शेर्पाले गोल गर्दै नाम्चेलाई अग्रता दिलाएका थिए । तर, ११ औं मिनेटमा पासाङ ग्याल्जेन शेर्पाले फराकका लागि बराबरी गोल फर्काए । खेलको ५२ औं मिनेटमा पेम्बाले गोल गर्दै आयोजक फराकलाई फाइनल खेलमा पहिलो पटक अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै पाएको पेनाल्टीमा कप्तान पासाङले फराकका लागि व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै उपाधि पक्का गरे ।