काठमाडौं— १५ औँ संस्करणको ‘खुम्बु ल्होसार कप २०८२’ फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार ललितपुरस्थित अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) फुटबल मैदानमा आयोजक महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च (फराक) र खुण्डे समाज क्लबबीचको खेलसँगै प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटनको पहिलो खेलमा महेन्द्र ज्योति र खुण्डे समाजले एक–एकको बराबरी खेले । पहिलो हाफको ३ मिनेटमा कप्तान पासाङ शेर्पाको गोलमा फराकले अग्रता लिए पनि २० मिनेटमा खुण्डेका लागि पेमा वन्डीले बराबरी गोल फर्काएका थिए । ३५÷३५ गरी कुल ७० मिनेटमा छोट्याएर खेलाइएको खेलमा त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । खेलको म्यान अफ दि म्याच भएका फराकका कप्तान पासाङ शेर्पाले नगद तीन हजार प्राप्त गरे । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कपको मुख्य उद्देश्य सम्पूर्ण समुदायलाई फुटबलमार्फत् एकताबद्ध गर्ने रहेको छ । ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरू र समुदायलाई जोड्ने साझा उत्सवका साथ साथै खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका समुदायलाई एक ढिक्का गराउनु पनि रहेको पालिका प्रमुखको भनाइ छ । प्रतियोगिताबाट स्थानीय खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रिय स्तरमा नै खेल्ने अवसर हुने उनको विश्वास छ ।
खेलकुद


प्रतिक्रिया