मनोरञ्जन

स्मिता र रामकुमारको स्वरमा रमेशबाबुले ल्याए ‘लाल तारा’


काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रमेशबाबु श्रेष्ठको चुनावचिह्न केन्द्रित गीत ‘लाल तारा’ सार्वजनिक भएको छ। भृकुटीमण्डपमा शनिबार आयोजित सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतको उपस्थितिमा ‘लाल तारा’ सार्वजनिक गरिएको हो।

स्मिता दाहाल र रामकुमार नेपालीको स्वरमा रहेको गीत लाल तारामा संगीत पनि रामकुमारले नै दिएका छन्। मुर्चुंगा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सञ्जय श्रीपाल र रमेश नेपालीले प्राविधिक काम गरेका छन्। कलाकारको भूमिकामा सुनीता खपांगीमगर, नानु बुर्जामगर र पविन्द्र सुनार सहायक छन्। उक्त गीतको निर्देशन हुसेन मियाँले गरेका छन्।

लाल तारामा कम्युनिस्ट आन्दोलनको एकता र परिवर्तनको सन्देश दिइएको गीतकार श्रेष्ठले जानकारी दिए। रामेछाप भंगेरीमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ जन्मिएकै घरका सदस्य रहेका गीतकार श्रेष्ठ बुबा स्व.नारायणबाबु र दाइ नरेशबाबुको प्रेरणाले राजनीतिमा होमिएका हुन्।