काठमाडौं — ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।
दलहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् । ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।


प्रतिक्रिया