काठमाडौं— पर्साको वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप बढेको छ । शुक्रबारबाट फैलिएको हैजा महानगरपालिकाका विभिन्न वडा हुँदै समुदायस्तरसम्मै फैलिसकेको हो । हैजा सङ्क्रमणका कारण हालसम्म दुई जनाको मृत्युसमेत भएको छ । विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजा सङ्क्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पर्सामा पछिल्लो १० वर्षयता हैजाको यो पहिलो महामारी हो । कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । अस्पतालहरूमा १२९ जना बिरामी भर्ना भई उपचार गराइरहेका छन् । हालसम्म महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ मा हैजा सङ्क्रमण पुष्टि भइसकेको छ । हैजाले भयावह रूप लिएपछि स्थानीय र प्रदेश सरकारले चासो देखाएका छन् ।
समाचार


प्रतिक्रिया