समाचार

निजामती सेवा विधेयकमाथि आजदेखि संसदीय समितिमा छलफल हुँदै

योहो संवाददाता

‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्प्रभावी बनाउन छलछाम भएको निजामती विधेयकमाथि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा आजदेखि दफावार छलफल हुँदै छ । निजामती कर्मचारीको अनिवार्य अवकाश वा राजीनामापछि संवैधानिक, कूटनीतिक र सरकारीसँगै स्वार्थ बाझिने गरी गैरसरकारी संस्थामा पनि दुई वर्षसम्म नियुक्ति लिन नपाउने व्यवस्थामा छलछाम भएपछि निजामति विधेयकमा चासो बढेको छ ।

‘कुलिङ अफ पिरियड’ लाई लिएर मुख्यसचिव, संसद्कै महासचिव र सरकारका सचिवले विरोध गरिरहेका बेला दलहरूको समेत फरक–फरक संशोधन परेकाले यस विधेयकमाथि हुने अन्तिम संसदीय छलफलमा चासो बढेको हो ।

प्रधानमन्त्रीकै दल एमालेसहित लोसपा र मनोनीत सांसदले ‘कुलिङ अफ पिरियड’ हटाउनुपर्ने भन्दै संशोधन हालेका छन् । प्रमुख प्रतिपक्षी माओवादीका सांसदले ‘कुलिङ अफ पिरियड’ बढाएर ३ वर्षको बनाउनुपर्ने संशोधन दर्ता गराएका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र जनमोर्चाको संशोधन प्रस्ताव ‘कुलिङ अफ पिरियड’ को पक्षमा छ ।