काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए ।
सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।
साउन २० मा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
यस्तै, नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
एक वर्षअघि कांग्रेस र एमालेको संयुक्त सरकार गठन हुँदा लगाइएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिएको थियो।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसभित्रको विवाद समाधानका लागि भन्दै संस्कृति तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेपछि मन्त्रालय संख्या १४ पुग्यो भने कांग्रेसले थप एउटा लिएको हो । विवादकैबीच बागमति सरकारले पूर्णता पाएको छ ।


प्रतिक्रिया