राजनीति

अस्थिरताको अखडा प्रदेश, बागमतीमा ६ मुख्यमन्त्री ९० बढी मन्त्री, बानियाँले शपथ लिँदा बहादुरको अझै अड्को (भिडियोसहित)


काठमाडौं—बाग्मती प्रदेश सरकारमा नेतृत्वका लागि देखिँदै आएको खिचातानीको अन्त्य गर्दै अन्ततः नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्दै बाजी मारेका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई विस्थापित गर्दै आठ वर्षदेखि देखेको सपना बानियाँले साकार पारेका छन् । देशमा सङ्घीयताको अभ्यास सुरु भएयता दुईवटा आमनिर्वाचन सम्पन्न भएदेखि नै मुख्यमन्त्री बन्ने सपना बुनेका उनले आठ वर्षपछि त्यसलाई पूरा गरे । पहिलो कार्यकालमा मुख्यमन्त्री बन्ने ‘रोडम्याप’ अनुसार नै पाँचै वर्ष संसदीय दलको नेता भए पनि उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । दोस्रो कार्यकालमा बहादुरसिंह लामासँग संसदीय दलको नेतामा पराजित भएका बानियाँले उनैलाई हराएर पुनः संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीको यात्रा तय गर्न सफल भएका हुन् । मङ्गलबार उनले प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए ।