Breaking

विमानस्थलको मुख्य गेटमा राजा पर्खदै राजावादीहरु


काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरु काठमाडौंको विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् । समर्थकहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।

राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् । पूर्वराजा शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

उनीहरुलाई चक्रपथ सडकबाट विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न भने प्रहरीले रोकेको छ । काम विशेषले विमानस्थलसम्म जानेहरुलाई पनि प्रहरीले सोधपुछ र चेकजाँच गरेर मात्र मुख्य गेटबाट प्रवेश गर्न दिएको छ ।