सरकार सञ्चालन गर्न नसकेकोदेखि भूराजनीति र व्यवस्था ढाल्ने तत्वहरू सक्रिय हुँदा यतिखेर नेपाली कांग्रेस चौतर्फी चुनौतीले घेरिएको छ । तर, पनि देशको ठूलो दल कांग्रेस सबैलाई नजर अन्दाज गरिरहेको छ ।
नेपाली कांग्रेस जसले नेपाली राजनीतिमा परिवर्तन ल्याउनका लागि हरेक आन्दोलनमा योगदान खेल्दै आएको छ । अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न पनि कांग्रेसको निर्णायक भूमिका छ । तर, अहिले कांग्रेस नै सत्तामा हुँदा त्यही शासन व्यवस्थाविरुद्ध धावा बोल्न सडक तानिरहेको छ । आफूले ल्याएको व्यवस्थादेखि चलाइरहेको सत्तासम्मको चौतर्फी विरोधी आवाज उठिरहँदा पनि नत कांग्रेसका नेताहरूमा प्रतिकारमा उत्रिएका छन् न त समस्याको समाधान गर्न तर्फ नै लागेको देखिन्छन् ।
देशमा राजावादीहरू उग्र भएर पुनः राजतन्त्र फर्काउने अठोटमा लाग्दा पनि कांग्रेसका सभापति शेरबहादुर देउवाको कुनै प्रतिक्रिया आएका छैनन् । त्यस्तै राजालाई नै ढुङ्गा हानेर राजनीतिमा स्थापित भएका महामन्त्री गगन थापा पनि मौलाउँदो राजावादीहरूको मुमेन्टलाई अनदेखा गरिरहेका छन् । सधैं सबैसँग भिड्ने अर्का महामन्त्री विश्वप्रकाश पनि मौन छन् । राजाबादीहरुले मुन्टो उठाउँदा काँग्रेसीहरुको अस्वभाविक मौनताले प्रजातान्त्रिक पार्टीको काम कम्युनिष्टहरूसँग कुम जोड्ने र सत्ता लम्ब्याउने मात्रै भएको जस्तो देखिन थालेको छ ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भएको महाकुम्भ मेलामा लावा लस्कर लगाएर गएको कांग्रेसका नेताहरू त्यहाँबाट फर्केपछि राजावादीको विषयमा तै चुप मै चुप छन् । राजबादीको दिन दई गुना रात चौगुनाको सक्रियता र काँग्रेसका मौनताले कतै अनेक आशंकाहरु उव्जिएको छ। कतै काँग्रेसकै मौन स्विकृतीत हैन भन्ने कोणबाट पनि हेर्न थालिएको छ।
व्यवस्थामाथि भईरहेको प्रहारले मात्रै नभएर सत्ता सञ्चालनमा देखिएको असन्तुष्टिले पनि कांग्रेसलाई चुनौती थपिएको छ । कांग्रेस सम्मिलित सरकारकै खिलाफ शिक्षकहरू सडकमा उत्रदा त्यसको समाधान तर्फ कांग्रेसको ध्यान गएको देखिन्दैन । यही बेला राजाबादी सल्बलाउनु र शिक्षकसमेत सडकमा आउनुले सरकार चौतर्फी घेराबन्दीमा रहेको बुझ्न कठिन छैन । शासकहरुले केही गरेनन् भनेर राजाबादीले नागरिकको ब्रेनवास गरेका बेला शिक्षकहरु पनि आन्दोलित भएर सडकमा आउँदा उनिहरुलाई वितृष्णाको विउ बाढ्न थप बल पुगेको छ।
तर यति हुँदा पनि काँग्रेस कान सुन्ने र आँखा देख्ने भएर पनि नदेख्ने र नसुन्ने झै गरिरहेको छ । अर्थात काँग्रेसलाई यसले छोएको छैन । बरु, अनिश्चित रहेको महाधिवेशनका लागि देशविदेशको ढोका ढकढकाईरहेको छ । सदनको ठूलो वा देशकै पुरानोमध्येको एक दल भएको कांग्रेसमा प्रतिकारमा उत्रन उदासीन बनेको छ ।
आफैले ल्याएको व्यवस्थाविरुद्ध जनविरोध बढिरहँदा कांग्रेसका नेताहरूको अस्वाभाविक मौनताले सबैलाई अचम्ममा पारेको छ । राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्नु नै पार्टीको ठूलो उपलब्धि ठात्रे गरेको कांग्रेसले अहिले त्यही व्यवस्थामाथि चारैतिरबाट प्रहार हुँदा पनि नजरअन्दाज गरेको छ । ठूलो बलिदानसँगै त्याग र सङ्घर्षले ल्याएको व्यवस्थालाई ढाल्न सल्बलाएको तत्वहरूको प्रतिकारमा उत्रन नसकेको कांग्रेस सरकारप्रति बढेको वितृष्णाको समाधान खोज्न पनि चुकिरहेको छ ।


प्रतिक्रिया