राजनीति

ओली र देउवा कपमा रुमलिएको खेलकुद, राज्य शक्तिकै दुरुपयोग


२०८१ को मंसिर महिनामै भइसक्नु पर्ने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक पटक सर्दै ०८२ जेठमा पुगेको छ । तर, राज्य शक्तिको प्रयोग गरेर आफ्नै नाम र पार्टीको नाममा प्रतियोगिता गर्न भने तिनै सत्तामा रहेका दलका नेताहरू दिलोज्यान लगाएर मरिमेट्ने गरेका छन् ।

एक महिना अघि अर्थात् गत माघ १७ गते नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले धुमधामका साथ सभापति कपको समापन ग¥यो । माघ १० गतेदेखि १७ गतेसम्म भएको पहिलो सभापति कपमा प्रथम भएको सङ्कटा फुटबल क्लबले २६ लाख र उपविजेता बनेको आयोजक टिम बाग्मतीले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । फाइनलमा कांग्रेस सभापति शेरबहादुर देउवाकै उपस्थितिमा धुमधामका साथ सम्पन्न प्रतियोगिताको कुल लागत डेढ करोड हाराहारी भएको थियो । एउटा दलको भ्रातृ सङ्गठनले यति ठूलो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्नु चानचुने कुरा होइन ।

कांग्रेसले जस्तै सत्तारुढ नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले पनि सोमबारमात्रै केपी ओली कपको भव्यताका साथ समापन गरेको छ । फागुन ११ देखि १९ गतेसम्म चलेको प्रतियोगिताको फाइनलमा इटालीका विश्व विजेता लिजेण्ड गोलकिपर जियानलुईजी बुफोनलाई समेत आमन्त्रित गरिएको थियो । पौने दुईदेखि दुई करोड खर्च गरिएको प्रतियोगितामा प्रविधिको उपयोगसँगै दर्शकको उल्लेख्य उपस्थितिले पनि यो कपको भव्यतालाई दर्शाएको छ ।

तर, नेपालको विडम्बना सत्ताधारी दुई दलको भ्रातृ सङ्गठनले यस्ता ठूला प्रतियोगिता आयोजना गरिरहँदा देश हाँकी रहेको सरकारले नै भने राष्ट्रको गौरव दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न असमर्थ भइरहेको छ । प्रत्येक दुई÷दुई वर्षमा हुनु पर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पटक पटक सर्दै आएको छ । २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा आयोजना हुने घोषणा गर्दै कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो ।

तर, खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङबीचको आपसी टकरावले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन सकेको छैन । पूर्वाधार र तयारी अभावलाई मुख्य कारण देखाउँदै गत मंसिरमा राखेपको ११८औँ बैठकले यसै वर्षको चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो । तर, राखेपले प्रतियोगिताको मिति सारेर अर्काे वर्षमा पु¥याएको छ । गत बिहीबार बसेको १२१ औँ बोर्ड बैठकले २०८२ जेठ ३ देखि १० गतेसम्म हुने गरी मिति निर्धारण गरेको छ । दुई पटक तोकिएको समयमा हुन नसकेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सर्दा अझै तोकिएकै मितिमा प्रतियोगिता हुनेमा आशंका छ ।

सरकारको प्राथमिकतामा नपर्दा लगातार मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुरै वर्ष दिन पछि धकेलिएको छ । सरकारले पूर्वाधार र आर्थिक अभावलाई कारण देखाए पनि अर्थ मन्त्रालयले प्रतियोगिता आयोजना गर्न ६० करोड बजेट निकासा गरिसकेको छ । त्यस्तै आयोजक कर्णाली प्रदेशले प्रतियोगिताको सबै तयारी पूरा गरिसकेको जनाएको छ । एक साथ १२ वटा खेल खेलाउन सकिने गरी १० हजार दर्शक क्षमताको पाराफिटसहित रङ्गशालाको निर्माण पूरा भइसकेको छ । कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार बजेटमा द्रुत गतिमा रङ्गशालासँगै पूर्वाधारलगायतका संरचना निर्माण भएर काउनडाउन नै थालिए पनि केन्द्रको असहयोगका कारण प्रतियोगिता पर धकेलिएको मात्रै छैन, अन्योलता पनि कायमै छ ।

एमाले नेतृत्वले देश हाकिरहँदा कांग्रेसबाट मन्त्री बनेका चौधरीले खेलकुद मन्त्रालय हाँकिरहेका छन् । तर, दुवै दलका नेताहरू राष्ट्रिय खेलकुद गराउन भन्दा पार्टीले आयोजना गर्ने प्रतियोगितालाई सफल बनाउन सक्रिय रुपमा लागेका देखिन्छन् । सत्तामा रहेका कांग्रेस एमालेका शीर्ष नेतृत्वलाई देवत्वकरण गर्दै ठूला खेलकुद आयोजना गर्न सक्षम हुन्छन् । तर, राष्ट्रको गौरवका रुपमा रहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न भने तिनै दलका नेताहरूले विभिन्न बहाना बनाउँदा निर्धारितम मिति पटक पटक सरेको छ ।

आफ्ना र पार्टीको प्रतियोगितामा रमाउँदै पार्टी नेतृत्वको ब्रान्डिङ गर्न राज्य शक्तिको प्रयोग हुँदा राष्ट्रकै गौरव राष्ट्रिय खेलकुद गराउन भने सत्तारुढ दल नै उदासीन बनेका छन् । दल र दल निकट संगठनका साथै जिल्ला तहमा भइरहेका प्रतियोगिताले देशमा खेलकुदका गतिविधि भइरहेको देखाए पनि राष्ट्रिय खेलकुद जस्तो देशकै प्रतिष्ठाको रुपमा रहेको प्रतियोगिता निर्धारित समयमा नहुनुले भने सरकार स्वयम्लाई लज्जाबोध हुनु पर्ने हो ।