Breaking

चस्का दिने गगनको ‘क्याम्पियन’, जता गयो त्यतै भिड


पार्टीको दोस्रो कार्यकारी भूमिकामा रहेर पनि सभापतिको प्रतिपक्षी बनेका गगन थापा पछिल्लो केही समययत फेरिएका छन् । पार्टी सभापति र आगमी प्रधानन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्दा फगत लोकप्रियताभन्दा माथि उठेर गाली खाएरै भए पनि दीर्घकालीन र नीतिगत सुधारको भाषा बोल्न थालेका छन् । यसलाई विश्लेषकहरुले गगनमा परिपक्वता आएको अर्थमा हेर्दा कार्यकर्ताले भने मिसन सफल भएको अर्थमा हेरिरहेका छन् ।

सामाजिक सञ्जालमा ट्रोलको सिकार । तर, कार्यकर्ता तहमा जयजयकार । सभापति र पीएम मिसन सफल भएको झल्को दिनेगरी कांग्रेस महामन्त्री गगन थापा कार्यकर्ताको भीडमा हराइरहेका छन् । सरकार सञ्चालन र रवि प्रकरणको ह्याङ ओभरबाट निस्किएर शेखर कोइराला लगायतको महाधिवेशन विशेष क्याम्पियनलाई चस्का मात्र दिएका छैनन्, माओवादी र एमालेको गढमासमेत जबरजस्त प्रभाव देखाइरहेका छन् ।


पछिल्लो समय गगन सुदूरपश्चिमदेखि कर्णाली र लुम्बिनीसम्म सक्रिय छन् । नेपालगञ्जमा थापाले पाएको स्वागत र समर्थकको उपस्थितिले विमानस्थल पुग्दा उनलाई भिड छिचोल्नै मुस्किल परेको थियो ।

यो बीचमा गगनले सल्यान, रोल्पा, दाङ, प्यूठान, पर्वत, बागलुङलगात जिल्लाको चक्कर काटिसकेका छन् । हरेक जिल्लामा त्यसमा पनि प्यूठान र रोल्पामा पाएको असाधारण समर्थनले कांगेसी वृत्तमा हौसला छाएको छ । त्यसमाथि १५ वर्षपछि गगन रोल्पा पुुग्दा माओवादीको आधार इलाका नै हल्लाइदिएको अर्थमा धेरैले हेरेका छन् । २०६४ साल यताका निर्वाचनमा माओवादीले जिते पनि कांग्रेसका उम्मेदवारले निरन्तर मतान्तर घटाउँदै लैजानु तथा गगनको उपस्थितिपछि असाधारण जनलहरका साथ भएको शक्ति प्रदर्शनले माओवादीको किल्लामा खतराको साइरन बजाइदिएको अर्थमा कांग्रेसी वृत्तले हेरेको छ ।

तर, यहाँ धेरैलाई आश्चर्य लागेको विषय के हो भने गगन एकाएक किन र कसरी फेरिए ? सरकार सञ्चालन र पार्टीका महत्वपूर्ण बैठक छाडेर देश दौडाहामा छन् । हिजोसम्म सरकारको डिफेन्स गरेर नथाक्ने गगन एमालेले चकचक गर्न थाले सरकार छाड्नेसम्मका घुर्की लगाउँदैछन् । अब उनी बोलिरहेका मात्र छैनन् कि बोलेको कुरालाई पुष्टि गर्न खोजिरहेका छन् । यसको पछाडिको एकमात्र राज हो– ‘मिसन पीएम’ ।

रवि लामिछानेको घाँटीमा सहकारीको तरबार झुुण्ड्याइँदिएपछि गगनलाई लाभ मिलेको छ । यसले नयाँ पनि उस्तै हुन् भन्ने भाष्यलाई बलियो बनाइदिँदा कांग्रेसबाट रास्वपामा जाने ठूलो लहर रोकिएको छ । अब रोकिएका कार्यकर्तामा ऊर्जा भर्ने काम गगनले गरिरहेका छन् । फलतः कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सक्ने सम्भावना रहेको पुष्टि गर्न आईटी क्षेत्रका युवा नै राखेर नेपाल स्टार्टअप समिट चलाए ।

अहिले पहाड घुमेका गगनले रित्तिएका गाउँबस्तीका समस्या उठाउन थालेका छन् । अब गाउँमै अवसर सिर्जना गर्नेबारे बहस छेड्न थालेका छन् । र, केही समयका लागि बुढ्यौली पुस्ताको फेरो समातेका गगन अब सभापति शेरबहादुर देउवालाई विस्थापित गरे मात्र सबै समस्याको समाधान हुन सक्ने र त्यसका लागि आफू सक्षम रहेको दाबी गरिरहेका छन् ।

गगनको जिल्ला दौडको प्रमुख उद्देश्य हो– पार्टीको १५ औँ महाधिवेशनसमा सभापति बन्ने माहोल बनाउनु । केही दिन अघिसम्म शेखर कोइरालाले आफ्नो अभियानका क्रममा गगन अवसरवादी बनेर देउवा क्याम्पमा छिरिसकेको भन्दै देउवाकै नेता तान्न थालेका थिए । तर, गगनको आक्रामक दौडपछि कोइरालाले गगन आफैँसँग रहेको भन्न थालेका छन् । किनकि शेखर क्याम्पकै नेता गगनको पक्षमा आएका छन् । अहिलेसम्म गगनले बागमती प्रदेश सभापति इन्द्र बानियाँ र लुुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई आफ्नो क्याम्पमा ल्याइसकेका छन् ।

हुम्लाका सभापति मोहनविक्रम सिंह र जुम्लाका पूर्वसभापति दीपबहादुर शाहीले पनि पूर्णबहादुर खड्काको साथ छाडेर १५ औँ महाधिवेशनमा गगनको नेतृत्वलाई समर्थन गरेका छन् । कोठमाडौं, सिन्धुपाल्चोक, सल्यानसहित देशभर १६ भन्दा बढी जिल्ला सभापति उनको पक्षमा खुलेरै लागिसकेका छन् भने २५ जिल्ला सभापति पक्षमा ल्याइसकेको गगन पक्षको दाबी छ । अब गगनको योजना अरु जिल्ला सभापतिहरुलाई आफ्नो पक्षमा तान्नु रहेको छ । विधानअनुसार केन्द्रजस्तै जिल्लामा पनि दुई कार्यकालभन्दा बढी समय सभापति बन्न पाइँदैन । प्रदेश सभापति केन्द्रीय महामन्त्री र जिल्ला सभापति केन्द्रीय सदस्य तथा प्रदेश र संघीय सांसदका लागि दाबेदार हुन् । अब त्यस्ता सभापतिलाई पक्रिँदै आगामी निर्वाचनमा टिकट दिने र महाधिवेशनमा उचित पुरस्कार दिने वचनसहित फकाउनु गगनको मुख्य उद्देश्य हो । जसका लागि जिल्ला तहबाटै बलियो धरातल बनाउन उनी सक्रिय बनेका देखिन्छन् ।

लोकप्रियता बटुले पनि गगनलाई सभापति बन्न त्यति सहज भने छैन । लोकप्रियताकै बलमा सभापति जित्न गगनले क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्थाको माग गरिरहेका छन् । तर विधानले उनलाई छेकिरहेको छ । दुई पुस्ता नाँघेर तेस्रो पुस्ताका गगनलाई पार्टी सभापति बन्न आफैँमा चुनौती हुनेछ । अहिले देउवालाई नै चुनौती दिन थाल्दा भोलि उनको पनि आशीर्वाद नपाउने र शेखरले समेत साथ छाड्दा गगन फेरि हेरेको हे¥यै नहोलान् भन्न सकिँदैन । यद्यपि देउवा र शेखर लगायतलाई रिझाएर वा आफ्नो शक्ति बलियो बनाएर नेतृत्वमा आउन सक्ने सम्भावनाका बीच उनको कुटिल चाल कस्तो रहनेछ ? त्यसले पनि उनको राजनीतिक भविष्यलाई निर्धारण गर्नेछ ।।