नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पार्टीका प्रत्येकजसो औपचारिक फोरमहरूमा अनुपस्थित हुने गरेका छन् । पहिले प्रथम कोशी प्रदेश सम्मेलनबाट भागेका उनले पोखरामा भएको जिल्ला सभापतिहरूको भेलालाई बेवास्ता गरे । अहिले फेरि भैरहवामा भइरहेको क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमलाई बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन पछि डा.शेखर कोइराला पार्टीमा स्थायी प्रतिपक्षी जस्तै बनेका छन् । अन्य नेताहरू कहिले संस्थापन त कहिले इतर पक्षमा सामेल हुने गरे पनि शेखरले भने सधैं संस्थापनभन्दा बाहिर रहेर नेतृत्वको खुलेरै विरोध गर्ने गरेका छन् । कांग्रेसमा संस्थापन पक्षले शेखरलाई र शेखरले पनि संस्थापन पक्षलाई बहिष्कार गर्दै आएका छन् । सोमबारदेखि सुरु भई दुई दिनसम्म चल्ने पार्टीको क्षेत्रीय सभापतिहरूको प्रशिक्षणलाई शेखरले बहिष्कार गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रममा शेखरलाई निम्तो गरिए पनि उनी विराट गोल्डकपको उद्घाटन गर्न विराटनगर हानिए ।
जबकि उनले आइतबारै पार्टीको बुटवलमा भएको कार्यक्रममा सहभागिता जनाएका थिए । यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानकै आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पार्टीले शेखरलाई निम्तो नदिई बहिष्कार गरेको थियो । त्यस्तै मंसिर २२ र २३ गते भएको पार्टीको प्रथम कोशी प्रदेश सम्मेलनका लागि सभापति देउवासहित कांग्रेसका सबै शीर्ष नेताहरू विराटनगर पुग्दा शेखर चितवन पुगेका थिए ।
१६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जना सहभागी भएको प्रशिक्षण कार्यक्रममा निम्तोका बाबजुद उनी अनुपस्थित रहे ।
कोशी प्रदेशदेखि पोखरा र रुपन्देहीमा भएको पार्टीको आधिकारिक फोरममा शेखरको उपस्थिति देखिएन । पार्टीभित्र नेताहरूबीच दूरी बढ्दै गएपछि नेतृत्व नै त्यसको खोजीमा लागेको छ । पार्टी भित्र रहेका मतभेद र विवादलाई आपसमा छलफल गरेर हटाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा बोलेका देउवाले विश्वासको वातावरण बनाएर मेलमिलापको नीतिलाई स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
महाधिवेशन र सङ्गठनका लागि पनि क्षेत्रीय सभापतिको भूमिका महत्वपूर्ण रहन्छ । तल्लो तहका सबै पकड नै क्षेत्रीय सभापतिमा हुने हुँदा महाधिवेशनमा शीर्ष नेतृत्वलाई क्षेत्रीय सभापतिको साथ चाहिन्छ । तर, यस्तोमा उनी बुढानीलकण्ठदेखि प्रदेश, जिल्ला र क्षेत्रमा हुने भेलालाई नै बहिष्कार गरेर हिँडिरहेका छन् । कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गरिरहेका शेखर पार्टीको औपचारिक कार्यक्रमलाई बेवास्ता गर्दै भागिरहँदा बलियो संस्थापन पक्षसँग कसरी पौठेजोरी खेल्न सक्लान् ? यो भने पेचिलो विषय बनेको छ । संस्थापन पक्षका कार्यक्रम बहिष्कार गर्दै आफ्नो गुट बलियो बनाउने उनको रणनीतिले उनलाई पार्टी नेतृत्वमा पु¥याउन सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी छ ।।


प्रतिक्रिया