काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै उनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन् ।
र, अन्तिममा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी तपाईंका दुश्मम होइनौं, विकासको साझेदार हौं ।’
उनले महानगरलाई जतिसुकै नाकाबन्दी लगाए पनि आफ्ना नियतमा फरक नपर्ने पनि बताएका छन् ।
‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला,’ मेयर बालेनले भनेका छन्, ‘तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।’
उनले आफू सुशासनका लागि कुनै सम्झौता नगर्ने पनि बताएका छन् ।
‘महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो,’ मेयर बालेनले भनेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’


प्रतिक्रिया