राजनीति

राष्ट्रिय सभाबाट पछि हट्यो अध्यादेश, प्रकृति प्रकरणमा गृहमन्त्रीसँग जवाफ माग, केबलकार विवाद (भिडियो)


काठमाडौं—राष्ट्रियसभाको आइतबार बसेको बैठकले चार वटा विधेयक पारित गरेको छ । बैठकले राष्ट्रिय सभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गर्दा यसअघि राष्ट्रिय सभाबाटै पारित गरेर प्रतिनिधिसभामा पठाएका तीन वटा विधेयक पारित भएर फेरि राष्ट्रियसभामा नै पठाएपछि पुनः पारित गरेको हो । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रियसभा बैठकले पुनः पारित गरेको हो ।

यी विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् । यसअघि सात जना सांसदहरूले शून्य समयको सदुपयोग गर्दै आफ्ना भनाइ राखेका थिए । त्यसक्रममा सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्न सक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनारले खन÷जोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपुर्जा दिनुपर्ने माग गरे । सांसद दुर्गाकुमारी गुरुङले मुगुको तामाखानी पुनः सञ्चालन गर्न माग गरेकी छन् ।