Breaking

टोखामा गोली हानेर समातिएका गुड्डु लाल भारतीय सुटर

योहो संवाददाता

काठमाडौं—उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर हुन् ।

प्रकरणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए । उनका अनुसार, प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएको बस्नेतले बताए । पहिले प्रहरीले हतियार ओसारपसारमा संलग्न सामान्य व्यक्तिलाई मात्र समातेको तर, नाइकेसम्म पुग्न नसकेको भन्दै आलोचना भएको थियो ।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो । मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।