राजनीति

सरकारले ल्याएका सबै अध्यादेश दुवै सदनबाट पारित हुन्छन् : सञ्चारमन्त्री


काठमाडौं—सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएका सबै अध्यादेश संघीय सदनका दुवै सदनबाट पारित हुने बताएका छन् । अध्यादेशहरू राष्ट्रको हितलाई केन्द्रमा राखेर ल्याइएकाले पारित हुने उनको विश्वास छ ।

पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित हुने विश्वास व्यक्त गरे । सरकारका प्रवक्तासमेत रहेका गुरूङले विकासको जनअपेक्षा पूरा गर्न सरकारले तत्काल केही ऐन संशोधन अत्यावश्यक ठाकेकाले अध्यादेश ल्याएको र ती अध्यादेश संघीय सदनका दुवै सदनमा प्रस्तुत भइसकेको बताए । उनले शिक्षा स्वास्थ, अर्थतन्त्र सबै क्षेत्र तहसनहसको अवस्था देखेपछि सरकारले सुधारको योजनासहित अध्यादेशबाट कानुन संशोधन गरेको दावी गरे ।