Breaking

हिमाली जिल्लाहरूमा भारी हिमपात


काठमाडौं—कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका पहाडी जिल्लाहरूमा वर्षा भइरहेको छ भने हिमाली जिल्लाहरूमा भारी हिमपात भइरहेको छ । हिमपात र वर्षा शनिबार पनि जारी छ । लामो समयको खडेरीपछि हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँगै आएको वर्षातले किसानलाई राहत दिएको सर्केगाड गाउँपालिका हुम्लाकी उपाध्यक्ष देवकी तिमिल्सना बताउँछिन् । विशेष गरी कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष भने ढिलोगरी हिउँ परेको जगदुल्ला गाउँपालिका डोल्पाका युवा भाष्कर बस्नेत बताउँछन् ।

खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन । यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भएको उनले बताए । हिमपात हुँदा जुम्लाका स्याउ तथा ओखर कृषकहरुपनि खुसी छन् । आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न नसकिएको जुम्ला गोठिचौरका व्यवसायी चित्र बहादुर बुढा बताउँछन् ।