काठमाडौँ – नेकपा माओवादी केन्द्र यतिबेला दलबलसहित तराई मधेशमा छ । जहाँ उसले कांग्रेसकै गढमा जनताको विश्वास जित्न कुनै कसर बाँकी राखेको छैन । कांग्रेस पनि के कम कुनै बेला माओवादीको गढ मानिएको रोल्पा, सल्यान पुगेर आफूलाई स्थापित गराउने प्रयास गरिरहेको छ ।
दलका कार्यक्रम र कार्यकर्तासँग भेट्नका लागि नेताहरु जिल्ला–जिल्ला पुग्नु राजनीतिका लागि नौलो होइन । तर यो साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दलबलसहित पूर्वी तराई झर्दा कांग्रेसका महामन्त्री गगन थापा भने पहाड उक्लिएका छन् । यी दुवै नेता यतिबेला एकले अर्काको इलाकामा पुगेर नेता कार्यकर्ता तिखार्नेदेखि जनता रिझाउन सक्रिय छन् । विगतमा कांग्रेसको गढ मानिएको तराई मधेशमा यतिबेला माओवादी आफ्नो माहोल बनाउन व्यस्त छ । दलबलसहित बिहान मर्निङवाक गर्दै ऊर्जा छरिरहेका माओवादी अध्यक्ष प्रचण्ड जनताकै घरमा खाना खानेदेखि बास बस्नेसम्मका गतिविधि गरिरहेका छन् ।
जहाँ उनी मसुक्कु हाँस्दै जनताको हालखबर सोध्दै कहिले भक्का खान पुग्छन् त कहिले पान खान । यतिमात्रै होइन जनताको मन जित्न मधेशी भेषभुषामै प्रस्तुत हुन्छन् । अझ रोचक त के छ भने प्रचण्ड आफू पनि जनता जस्तै भएको देखाउन जनताकै घरदैलोमा पुगेर केराको पातमा खाना खानेदेखि आफैँ भान्सेसमेत बनिरहेका छन् ।
उता गगन थापा भने माओवादीको इलाकामा आफ्नो माहोल बनाउन व्यस्त छन् । गगन थापाले पछिल्लो एक साता माओवादीको गढ मानिएको रोल्पा, सल्यान, सुर्खेत र प्यूठान पुगेर जनतासँग आत्मियता बढाए । माओवादीको रापताप रहेको रोल्पामा उनी पुग्दा बाजागाजासहित भव्य स्वागत गरियो । यी दृश्यले माओवादीलाई सायदै चसक्क परेकोे हुनुपर्छ ।
जनताको विश्वास जित्ने मामिलामा गगन थापाले माओवादीको इलाका ठाानिएका ठाउँहरुमा कुनै कसुर बाँकी राखेका छैनन् । कार्यकर्ताको विवाह कार्यक्रममा सहभागी हुनेदेखि स्टिलको गिलासमा गाउँलेसँगै बसेर दुध पिउनेसम्मका गतिविधि गर्दै जनतासँग आत्मियता बढाइरहेका छन् ।
२०७९ सालको निर्वाचनमा माओवादी तराई मधेशमा शून्य थियो । कांग्रेस–माओवादी एकले अर्काको गढमा माहोल बनाउन व्यस्त रहँदा पहिले गढ मानिएका ठाउँमा भने उनीहरु कमजोर हुँदै गइरहेका छन् । जहाँ माओवादीले आफ्नो र अन्य दलहरुको अवस्था र जनताले हेर्ने नजर कस्तो छ भनेर बुझ्ने कोशिस गरिरहेको छ । माओवादीले कांग्रेस आफ्नै गढमा खस्किएको निष्कर्ष निकालेको छ । कांग्रेसको गढमा विकल्प खोजिरहेका जनतामाझ माओवादी दलबलसहित पुग्दा केही आशातित देखिएका छन् ।
पज ः
एकले अर्काको इलाकामा आफ्नो माहोल बनाउन सक्रिय भइरहेको अवस्थामा गगन थापाले माओवादीको गढमा प्रचण्डको कमजोरी भण्डाफोर गरिदिए । व्यवस्था परिवर्तनका लागि लडेर तीन पटक देशको नेतृत्व सम्हालिसकेका प्रचण्डबाट केही तात्विक उपलब्धि नदेखेका जनताको भावना बुझेको कांग्रेस अब माओवादीको गढमा आफूलाई स्थापित गराउन चाहान्छ ।
सत्ता गुमेपछि रन्थनिएर जनताको घरदैलोमा पुगेका प्रचण्ड पनि सबैभन्दा ठूलो दलको रुपमा आफूलाई स्थापित गरेको नेपाली कांग्रेस र नेकपा एमालेलाई कसरी हुन्छ बदनाम गर्दै आफ्नो प्रभाव बढाउन अग्रसर भएका छन् । आफूले राम्रो काम गर्दा कांग्रेस एमालेलाई ऐठन भएको र सत्ता छोड्नु पर्ने बाध्यतामा आफू पुगेको बताउने उनले सरकार कुशासन र भ्रष्टाचारको बाटोमा हिँडेको सन्देश प्रवाह गर्न कुनै कसर बाँकी राखेका छैनन् । सत्ताबाट बाहिरिएको ७ महिना पुग्दा पनि मन बुझाउन नसकेका उनले दुई ठूला दलमाथि निरन्तर प्रहार गरिरहेका छन् ।
कांग्रेस र माओवादीले तल्लो तहमा पुगेर जनताको विश्वास आर्जन गरिरहँदा सत्तामा रहेको एमाले भने गुमनाम छ । सरकारको नेतृत्व गरिरहेको एमालेले पछिल्लो समय जनतामाझ पुग्ने कुनै पनि कार्यक्रम तथा अभियान सञ्चालन गर्न सकेको छैन । कांग्रेसको इसारामा चल्नुपर्ने बाध्यतामा रहेको एमालेले सत्तामा रहेर पनि न जनजीविकाको मुद्दालाई सम्बोधन गर्न सकेको छ न त मन्त्रीहरुले नै उपलब्धि दिन सकेका छन् । प्रतिपक्षीको भूमिका रहेको माओवादी भने कांग्रेस एमालेको कार्यशैलीबाट निराश बनेका जनताको विश्वास जित्दै आफूलाई पुनः सशक्त बनाउने रणनीतिमा अघि बढेको देखिन्छ ।।


प्रतिक्रिया