करिब डेढ दशक एकछत्र राज गरेकी शेख हसिनाको सत्ताको जग उखेल्न सफल बंगलादेशका विद्यार्थीहरूले नयाँ राजनीतिक दल खोलेका छन् । केही दिनअघि मात्र बंगलादेशको अन्तरिम सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका नाहिद इस्लामको संयोजकत्वमा विद्यार्थीहरूले नयाँ दल गठन गरेका हुन् ।
शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै देशै छाडेर भाग्नुपर्ने गरी गत जुलाईमा बंगलादेशमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । केही दिनअघि मात्र बंगलादेशको अन्तरिम सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका नाहिद इस्लामको संयोजकत्वमा विद्यार्थीहरूले नयाँ दल गठन गरेका हुन् । जसको नाम राष्ट्रिय नागरिक पार्टी राखिएको छ ।
पार्टीको संयोजक नाहिद इस्लामलाई बनाइएको छ भने अख्तर हुसेनलाई सदस्य सचिव चयन गरिएको छ । बिहीबार यस विषयमा विद्यार्थीहरूबीच करिब तीन घण्टा बैठक भएको थियो । बैठकले नसिरुद्दिन पटवारीलाई प्रमुख आयोजक बनाएको छ भने हसनत अब्दुल्लाहलाई नयाँ पार्टीको दक्षिण क्षेत्रको प्रमुख संयोजक बनाइएको छ ।
यसैबीच, सरजिस आलम उत्तरी क्षेत्रको प्रमुख आयोजक रहनेछन् । यद्यपि, सहसदस्य सचिव र सहसंयोजक पदका लागि धेरै नाम प्रस्ताव गरिएको थियो, तर कसैको पनि नाम टुंगो लागेको छैन । पूर्वनिर्धारित कार्यतालिकाअनुसार यो नयाँ राजनीतिक दलको घोषणा शुक्रबार भएको हो ।
जुलाई विद्रोहको भावनालाई कायम राखेर थप अधिकारको लडाईं जारी राख्न नयाँ पार्टी गठन गरिन लागेको विद्यार्थीहरुको दाबी छ । यसरी विद्यार्थीहरुले नयाँ पार्टी खोल्दै गर्दा बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले हालै राजनीतिप्रति लक्षित भाषण दिएका छन् । उनले राजनीतिक दलहरूद्वारा गरिएको हिलो छ्यापाछ्याप, नरसंहार र गुप्तचर विभाग लगायत विभिन्न संस्थाहरूबारेमा कुरा गरेका छन् ।
आफ्नो भाषणमा, सेना प्रमुखले देशको स्वतन्त्रता र सार्वभौमिकताको मुद्दामा जनतालाई सचेत गराएका छन् । अन्तरिम सरकारको कार्यकालको पछिल्लो छ महिनामा विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरूमा उनले दिएको भाषण र हालैको अभिव्यक्तिमा निक्कै फरक देखिएपछि बंगलादेशमा वकारको भनाइले चर्चा पाइरहेको छ ।
आन्दोलनपछि सत्तामा आएको अन्तरिम सरकार धेरै विषयमा असफल भएकाले सेना प्रमुखले सचेत गराएको हुनसक्ने उनीहरूको अनुमान छ । बंगलादेशमा विशेष गरी कानूनी व्यवस्थाको स्थितिबारे ठूलो चिन्ता र आशंका बढिरहेको छ । यसबाहेक, राजनीतिक दलहरू बीच पनि मतभेद देखा परेको छ । धेरै मानिसहरू यसलाई समग्रमा अनियन्त्रित अवस्थाको रूपमा हेर्छन् ।
अन्तरिम सरकारको छ महिनाको कार्यकालप्रति जनताको मनमा विश्वास घटेको छ भने शंका कायमै देखिन्छ । यो सरकारले परिस्थितिलाई कति हदसम्म नियन्त्रण गर्न सकेको छ भनेर निर्णय गर्न उनीहरूलाई गाह्रो भइरहेको छ ।
राजनीतिक दलहरू पनि धेरै अवस्थामा सरकारले आफ्नो नियन्त्रण स्थापित गर्न वा प्रमाणित गर्न नसकेको विश्वास गर्छन् । सेना प्रमुखले राजनीतिक दलहरूलाई एकअर्कालाई हिलो छ्याप्ने र लड्न बन्द गरेनन् भने, देशको स्वतन्त्रता र सार्वभौमिकता खतरामा पर्ने चेतावनी दिएका छन् । सेना प्रमुखको यो बयानले राजनीतिक दलहरू बीचको आपसी मतभेद सतहमा आएको छ । अर्कोतर्फ, हसिना सरकार विरुद्ध सडक आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूको नयाँ पार्टी गठनले बंगलादेशको राजनीतिमा नयाँ मोड देखापरेको विश्लेषण भइरहेको छ ।
यस पार्टीको गठनमा संलग्न धेरै विद्यार्थी नेताहरूले विभिन्न मुद्दाहरूको आलोचना गरेका छन् । यसले पनि विवाद सिर्जना गरेको छ । बंगलादेशमा सेनाले शत्ता लिने विश्लेषणसमेत हुन थालेको छ । बंगलादेशमा सैन्य सरकारको इतिहास पनि छ । सन् १९७५ मा पहिलो पटक सैन्य ‘कू’ गरेर मुजिब सरकार ढालिएको थियो । त्यसपछि सन् १९९० सम्म १५ वर्ष सरकार सेनाको नियन्त्रणमा रहेको थियो । विद्यार्थीहरुले पुराना दलप्रति विश्वास गर्न नसक्नु र आफूहरुकै बलमा हसिना सरकार ढलेकाले देशको परिवर्तनका लागि आफ्नो राजनीतिक नेतृत्वको आवश्यकता ठानेर नयाँ दल गठन गरेको देखिन्छ ।
हसिनाको सत्ताच्युत पछि अन्तरिम सरकारले देशलाई सही बाटोमा हिँडाउन नसक्नु र युवाको आवश्यकता तथा चाहनालाई बुझ्न नसकेकै कारण विद्यार्थीहरुले नयाँ बाटो रोज्न बाध्य भएको रुपमा हेरिएको छ । विद्यार्थीहरुको नयाँ पार्टीमा देशका अधिकांश शिक्षित युवाहरुको झुकाव देखिन्छ । यसले बंगलादेशको राजनीतिमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । विद्यार्थीहरुको राष्ट्रिय नागरिक पार्टीमा युवा जमातको जनलहर देखिएको छ । उनीहरु निक्कै उत्साहित र पार्टी घोषणा कार्यक्रमस्थलमा समेत उत्साहजनक सहभागिताले यसको पुष्टि गर्छ । यद्यपि, उनीहरुको यो नयाँ राजनीतिक यात्राले कुन दिशा लिन्छ र बंगलादेशको राजनीतिमा कस्तो प्रभाव पार्छ त्यो भने अहिले नै आकलन गर्न सकिने अवस्था छैन ।


प्रतिक्रिया