राजनीति

सत्ता गुमेपछि प्रचारमा प्रचण्ड, मर्निङ वाक ब्रान्ड बन्दै, पार्टीको नाम फेर्नेदेखि जनताको मुहार फेर्नेसम्म (भिडियो)


काठमाडौं—धोका दिँदै नेतृत्वका सारथि बनाउँदै आएका दलहरु नै मिलेपछि चेपुवामा परेको नेकपा माओवादी केन्द्र संगठन सुदृढीकरणमा लागेको छ । सकेसम्म नागरिकस्तरको तल्लो तहसम्मै पुग्ने र माओवादीबारे बुझाउने लक्ष्यसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दौडधुपमा छन् । यसैको उपज माओवादी जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जारी छ भने प्रचण्ड कहिले मर्निङ वाक त कहिले केराको पातमा भात खाँदै आफू नागरिकसँगै रहेको भाष्य निर्माण गरिरहेका छन् ।

उनको दौडाहा यतिसम्म छ कि काठमाडौँको कार्यक्रममा समेत केही घण्टाका लागि मात्रै सहभागी भएर उनी मधेश केन्द्रित नै बनिरहेका छन् । हुलाकी राजमार्ग केन्द्रित यो कार्यक्रमकै सभामा उनी कहिले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कहिल्यै गणतन्त्रवादी नभएको दाबीसम्म गर्न भ्याउँछन् भने कहिले माओवादी कमजोर भएपछि गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको दाबी गरिरहेका छन् ।

विगतमा गल्ती गरेको भन्दै जनतासँग क्षमा याचना गर्दै हिँडिरहेका उनले कार्यकर्ताकै घरमा बास बस्ने तथा सकेसम्म सहिद परिवारका घरमा खाना खाने गरेका छन् । त्यस्तै बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएर लोकप्रियहरुको मतसमेत क्यास गर्ने बाटोमा उनी देखिन्छन् । आफूहरूले संविधान बनाउँदा प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको स्मरण गर्दै त्यहि व्यवस्था आए अनि बालेन शाह होस् वा हर्क साम्पाङ जो आए पनि केही फरक नपर्ने उनको भनाइ छ ।