काठमाडौं—काठमाडौंमा आजदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदैछ । काठमाडौंको बुढानीलकण्ठमा आयोजित सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । दुई दिनसम्म चल्ने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने महान्यायाधीवक्ता रमेश बडालले जानकारी दिनुभयो ।
बडालका अनुसार सम्मेलनमा नेपालसहित, भारत, चीन, बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहने छ ।
दुई दिनमा ४ वटा प्लेनरी सत्र र ८ वटा समानन्तर सत्रमा १६ वटा कार्यपत्रमाथि छलफल हुने छ । प्रविधिमार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनियता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा साइबर कानूनी नीति निर्माण जस्ता विषयहरुमा छलफल हुनेछ ।


प्रतिक्रिया