अन्तर्राष्ट्रिय

जर्मनी : फ्रेडरिक मर्जले पासा पल्टाए, ८० वर्ष पुरानो विरासत फर्कियो, न्यायाधीशदेखि चान्सलरसम्मको यात्रा (भिडियो)


जर्मन नागरिकले चुनावी नतिजासँगै देशको नेतृत्व परिवर्तन गर्ने इच्छा प्रकट गरेका छन् । निर्वाचन परिणाममा सरकारको नेतृत्व गरिरहेको चान्सलर ओलाफ शोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) तेस्रो स्थानमा धकेलिएको छ । सत्तारुढ दलको हैसियत खस्किँदा विपक्षी दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पहिलो स्थानमा उक्लिएको छ । सीडीयू जर्मनीमा कुनै नयाँ पार्टी भने होइन । यो सन् १९४५ मा स्थापित ८० वर्ष पुरानो पार्टी हो । यो स्थापना हुँदा दक्षिणपन्थी धारको दल मानिन्थ्यो । अहिले जर्मन राजनीतिमा सीडीयूभन्दा पनि चरम दक्षिणपन्थी दलको उदय भइसकेको छ । यो चुनावमा एएफडी उल्लेखनीय मतसहित दोस्रो स्थानमा आएको छ । सबैभन्दा ठूलो राजनीतिक नोक्सानी उदारवादी धारको एफडीपीले व्यहोरेको छ । यो दलले गत निर्वाचनमा ९१ सिट पाएको थियो भने अहिले शून्यमा झरेको छ । साथै, ५ प्रतिशतको सङ्घीय थ्रेसहोल्ड समेत भेट्न सकेको छैन । सीडीयूको पुनरागमनसँगै फ्रेडरिक मर्ज देशको नयाँ चान्सलर हुने भएका छन् ।
को हुन त फ्रेडरिक मर्ज ?

१९५५ को नोभेम्बर ११ मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज पेशाले न्यायाधीश हुन् । १९८९ मा युरोपेली संसदमा निर्वाचित भएका मर्ज १९९४ मा जर्मन सांसद बने २००० मा सीडीयू पार्टीको संसदीय दलको नेता बने । तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो । २००५ मा सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए । २००९ मा सक्रिय राजनीति छोडेर कानून र वित्तीय क्षेत्रमा जीवनलाई अगाडि बढाए । २०१८ मा मर्ज पुनः राजनीतिमा फर्किए । एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किएका हुन् । तर सीडीयूको अध्यक्ष पदका लागि भएकोे चुनाव हारे । २०२० मा फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो । २०२१ मा तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो । २०२२ मा मर्ज सीडीयूको राष्ट्रिय अध्यक्ष बने ।