समाचार

उडिसा प्रकरण : झुक्यो भारत, प्रकृतिको सम्झनामा यति ठूलो निर्णय


भारतको उडिसामानेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर बढ्दो दबाबका बीच नेपाल र भारत दुवै देशका सरकार गम्भीर बनेका छन् । सदनदेखि सडकसम्म न्यायका लागि आवाज उठेपछि यो विषय पेचिलो बनेको छ । यो प्रकरणमा हालसम्म पाँच जना आरोपित पक्राउ परेका छन् । साथै उडिसा राज्य सरकारले गम्भीर रुपमा अनुसन्धान गर्ने प्रतिबद्धतासमेत जनाइसकेको छ ।

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाले सबैको ध्यान केन्द्रित गरेको छ । विदेशमा रोजगारी र पढाईको शिलशिलामा पुगेका नेपालीहरुलाई यो घटनाले झस्काएको छ भने नेपालीमाथि हुने व्यवहारलाई समेत छरपष्ट पारेको छ ।

नेपाली विद्यार्थीहरुले आफ्नो साथीको शंकास्पद मृत्युबारे अनुसन्धानको माग गर्दा कलेज प्रशासनले बेवास्ता मात्रै गरेन कि उल्दै अपमानजनक गतिविधि गर्दा घटनाले उग्ररुप लिन पुग्यो । विवाद यतिसम्म चर्कियो कि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती होस्टेलबाट निकालिएका भिडियो फुटेजहरु सामाजिक सन्जालमा भाइरल बने। जहाँ केही कर्मचारीहरुले अपशब्द प्रयोग गर्दै अपमानजनक व्यवहार गरेका थिए ।

प्रकृतिको मृत्यु घटनालाई लिएर भारतका साथै नेपालमा समेत चौतर्फी दबाब बढिरहेको छ । विरोध र तीव्र आलोचनाकै कारण नेपाल र भारत दुवै सरकार दवावमा पर्दा घटनामा सम्लग्नहरुलाई धमाधम पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल जारी राखेको बताउँदै आएकी परराष्ट्रमन्त्री आरजु राणाले बुधबारउडिसाका शिक्षामन्त्रीसँग फोन सम्वादसमेत गरेकी छन् । त्यसक्रममा परराष्ट्रमन्त्री राणाले घटनाको सत्य तथ्य छानविन गर्न माग राखेकी छन् ।(केआईआईटी) मा नेपालीसंगै भारतीय विद्यार्थीहरु पनि आन्दोलित भएका छन् । नेपालमासमेत विद्यार्थी संगठनहरुले प्रकृति लम्सालको न्याय माग्दै प्रदर्शन गरेका छन् । साथै नेपालका विभिन्न राजनीतिक दलले पनि सत्यतथ्य छानविनको माग गरेका छन् ।

प्रकृतिले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।यो मामिला सतहमा आएसँगै नेपाल सरकारसँगै भारतमा पनि सरकारी निकाय गम्भीर बनेका छन् । त्यसक्रममा नेपाली विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरुलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश पनि दिइसकेको छ ।

कलेजका केही सञ्चालकहरु विदेश भाग्न लाग्दा एयरपोर्टदेखि नै पक्राउ गरी हिरासतमा लिइएको छ । केही आरोपित भने धरौटी रकम बुझाएर हिरासतमुक्त भएका छन् । प्रकृतिको मृत्यु घटनामा मुख्य आरोपी रहेका अड्विक श्रीवास्तव प्रहरी हिरासतमा छन् । उनको मोबाइल प्रहरीले जफत गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकृतिको मृत्यु प्रकरण उडिसाको विधानसभामा प्रवेश भएपछि राज्य सरकारले अहिले छानबिनका लागि उच्चस्तरीय समितिगठन गरिसकेको छ । यसका साथै उडिसा सरकारले प्रकृति लम्सालको नाममा मनोपरामर्श केन्द्र नै स्थापना गर्ने भएको छ ।

भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्त सिग्देलले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरीसमक्ष सोमबार एफआईआर दर्ता गरेका छन् । त्यसो त, प्रकृतिको शंकास्पद मृत्युको सत्यतथ्य उडिसा प्रहरीको छानबिनपछि मात्रै बाहिर आउँला । तर उनकै सहपाठी विद्यार्थीहरुले घटनामा शंका गर्नु, उनीसँग नजिक रहेका भनिएका भारतीय युवकले दिएको यातना र दुईबीच भएको भनिएको अडियोले समेत प्रकृतिको मृत्यु अस्वभाविक रहेको देखिन्छ । यो घटनासँगै सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरु भने असुरक्षा र तनावका कारण धमाधम नेपाल फर्किन थालेका छन् ।

यद्यपि, केही विद्यार्थीलाई भने कलेजले सुरक्षाको प्रतिभूति गरेपछि होस्टलमा फर्किएका छन् । नेपाल हिँडेका तर बिच बाटोमै रहेका विद्यार्थीहरुलाई कलेजले फोन गरेर फर्किन आग्रह गरिरहेको छ । साथै उनीहरुका अभिभावकलाई इमेलमार्फत सबै खर्च बेहोर्ने प्रतिबद्धतासहित विद्यार्थीलाई कलेजमा पठाउन आग्रहसमेत गरेको जनाइएको छ । पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै बुधवारसम्म एक सयभन्दा बढी विद्यार्थी नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ । तर, विद्यार्थीहरू असुरक्षित महशुसगर्दै फर्किन मानिरहेका छैनन्।सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय नेपाली विद्यार्थीमध्ये ६० जना मात्र उडिसामा बाँकी रहेका थिए ।