अन्तर्राष्ट्रिय

जताजता मस्क त्यतैतिर ट्रम्प, जम्यो दोस्ती, सँगै अन्तरवार्ता


अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र उनलाई राष्ट्रपति बनाउन खुलेर लागेका खर्बपति एलन मस्कबीचको दोस्तीलाई लिएर यतिबेला अनेकौँ चर्चा बाहिर आउन थालेका छन् । ट्रम्पको चुुनावी अभियानमा करोडौँ डलर खर्च गरेका मस्कले यतिबेला अमेरिकाको शक्ति नै आफ्नो हातमा लिएको आरोपहरुसमेत खेप्नु परेको छ ।

डलर खर्बपति एलन मस्क यतिबेला चर्चामा छन् । नहुन् पनि किन डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै उनी सबैभन्दा बढी क्रियाशिल देखिन्छन् । कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेस एक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक एलन मस्क यतिबेला ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)’ को प्रमुखको रूपमा यति धेरै सक्रिय छन् कि उनलाई कतिपयले छायाँ राष्ट्रपतिसमेत भन्न थालेका छन् । तर उनले आफूले अमेरिकी सरकारको नेतृत्व नगरेको बताउदै आएका छन् । अमेरिकाको संघीय सरकारको खर्च कटौतीको जिम्मेवारीसहित डज सम्हालेका मस्कले विभिन्न विवादास्पद निर्णयहरू गरिरहेका छन् । पछिल्लो समय मस्कले लागत कटौती नगरे अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्नेसमेत बताएका छन् ।

ट्रम्पलाई आफ्नो अध्ययनको जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । एलन मस्कले अध्ययनबारे जानकारी दिँदै भनेका छन्, ‘अब पनि लागत बजेट कटौती नगरे अमेरिका टाट पल्टिन सक्छ । गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको भन्दै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेको जनाएका छन् । उनको यो निर्णयले यतिबेला अमेरिकाले दिने विभिन्न सहयोगहरु कटौती गरिएको छ । जसले नेपालमासमेत असर परेको छ । राष्ट्रपति चुनाव लडिरहेका ट्रम्पलाई जिताउन उद्योगपति एलन मस्कले पैसाको खोलो नै बगाएका थिए । तसर्थ यसको आर्शीवाद स्वरुप ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको प्रमुखको जिम्मेवार दिएका छन् ।

अप्रत्यासित रूपमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा प्रवेश गरेका मस्कले यूएसएआईडीलाई ‘आपराधिक संगठन’ भन्दै यसलाई बन्द गर्ने निर्णय गरिसकेका छन् । ट्रम्प र मस्कको सहमतिपछि यूएसएआईडीका २७ सय कर्मचारीलाई बिदामा राखिएको छ । मस्कको सुझाव र सिफारिस बमोजिमका निर्णयलाई ट्रम्पले पनि साथ दिइरहेका छन् । राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ताका साथै, ह्वाइटहाउस, जताततै छाएका मस्कले चुुनाव अघि पनि ट्रम्पको चुुनावी अभियानका क्रममा पैसा बाँडेको आरोप खेप्नु परेको थियो । हरेक विवादको सामना गर्दै आएका मस्क र ट्रम्पको दोस्तीले यतिबेला विश्वको ध्यान मात्रै खिचेको छैन कि आलोचनासमेत खेप्नु परिरहेको छ ।