राजनीति

अमेरिकी छापा : लुकेर बसे नेपाली, जेलनेलको त्रास


अमेरिकाको सत्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा पुगिसकेपछि अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आइरहेका अप्रवासीहरूलाई धमाधम हत्कडी, नेल र जन्जिर लगाएर डिपोर्ट गरिरहेको छ । हजारौँ नेपालीहरू अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आइरहे पनि नेपाल सरकारले त्यसतर्फ कुनै कदम चालेको छैन । परिणामतः सरकार लाचार बन्दा नेपालीले पनि त्यही नियत भोग्नु पर्ने सम्भावना बढेर गएको छ ।

अभिभावक गतिलो नहुँदा सन्तानले दुःख पाउँछन् भने झै सरकारमा बस्ने नेतृत्व सक्षम नहुँदा नागरिकको भविष्य अन्धकार बन्दछ । त्यस्तै अवस्थाबाट नेपालीहरू गुज्रिरहनु परेको छ । उच्च शिक्षा हासिल गर्नेदेखि रोजगारीसम्मका लागि नेपालीहरू विदेसिन बाध्य छन् । देशमा बढ्दो बेरोजगारीले निराश भएकाहरु भविष्य र परिवारका लागि अवैध बाटो भएर पनि विदेसिने गरेका छन् । त्यसमा पनि सपनाको देश भनेर अमेरिका भित्रिने कतिपय नेपाली अवैध मार्ग हुँदै पुगेका छन् ।

पछिल्लो समय अमेरिकाको सत्ता नेतृत्वमा डोनाल्ड ट्रम्प आएसँगै लाखौं खर्च गरेर गैरकानुनी रुपले अमेरिकाका पुगेकाहरु त्रासमा बाचिँरहेका छन् । भारत, मेक्सिको, ब्राजिल लगायत अन्य राष्ट्रहरूका नागरिकलाई हत्कडीसहित नेल र जन्जिर लगाएर डिपोर्ट गर्न थालिएपछि कागजानविहीन नेपाली थप त्रसित बनेका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको नोभेम्बरसम्मको तथ्याङ्कअनुसार अवैध आप्रवासीका रुपमा रहेका १३ सय ६५ नेपाली निष्कासनको सूचीमा छन् । गैरकानुनी रुपमा बसिरहेका नेपालीलाई पनि अमेरिकाले नेल, हत्कडी र जन्जिर लगाएर डिपोर्ट गर्न सक्ने सम्भावन रहेको हुँदा उनीहरू त्राहिमाम भएका हुन् । तर, नेपाल सरकार भने अमेरिकामा अवैध रुपमा रहेका नेपाली नागरिकको विषयमा अहिलेसम्म मौन बसेको छ ।

करिब एक महिना हुँनै लाग्दा पनि अवैध रुपमा अमेरिकामा रहेका नेपालीलाई स्वदेश फर्काउने सवालमा सरकारले पहल त के मुखसमेत खोल्न सकेको छैन । जनताले मत दिएर सत्तामा पु¥याएका नेतृत्वले संकटमा बाचिरहेका नेपाली नागरिकलाई सान्त्वना दिनसमेत कन्जुस्याईं गरेको छ । देशकै प्रतिष्ठामाथि आँच पुग्न सक्ने विषय हुँदा पनि सरकारले त्यतातिर कुनै पहल गर्न सकेको छैन ।

नेपाल सरकारले अमेरिकी सरकारसँग समन्वय गरी निष्कासनको सूचीमा परेका १३ सय ६५ नेपाली नागरिकहरूको नामावली प्राप्त गर्ने प्रक्रियासमेत सुरु गरेको छैन । अमेरिकी सरकारसँग कूटनीतिक वार्ता गरी नेपाली नागरिकप्रति सहानुभूतिपूर्ण नीति अवलम्बन गर्न आग्रह गर्नसम्म सरकार चुकिरहेको छ । जबकि, अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटमार्फत स्वदेश फर्काउनु सरकारको दायित्व नै हो । सबैभन्दा पहिले नेपालले अमेरिकासँग कुटनीतिक रुपमा समन्वय गरी त्यहाँबाट निष्कासनमा परेका आफ्ना नागरिकलाई फिर्ता ल्याउनु पर्ने जानकारको सुझाव छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पत्र ट्रम्पसँगको भेटमा अवैध रूपमा अमेरिकामा रहेका भारतीयलाई फिर्ता गर्न आफ्नो देश तयार रहेको जनाएका थिए । त्यसअघि विदेशमन्त्री एस.जयशङ्करले अमेरिकी विदेशमन्त्रीलाई पनि भेटेरै अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताएका थिए । यद्यपि, अमेरिकाले सेनाको विमानबाट हत्कडी लगाएरै भारतीय अवैध आप्रवासीलाई भारतमा डिपोर्ट गरेको थियो । उता मेक्सिको सरकारले पनि अमेरिकाबाट निष्कासित आफ्ना नागरिकको संरक्षणका लागि विशेष पुनःस्थापना कार्यक्रम नै सुरु गरेको छ । फिर्ता भएका नागरिकलाई रोजगारी दिने, मानसिक स्वास्थ्य परामर्श दिने र पारिवारिक पुनर्मिलनका लागि सहयोग प्रदान गरिँदै छ । सरकारले सीमा क्षेत्रका ठाउँमा अस्थायी आश्रय, खाना र यातायातको व्यवस्था गरेको छ । तर, यता नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा नआउनु पीडामा रहेका अवैध आप्रवासी नेपालीलाई झन् पीडा थप्ने काम गरेको छ । जसले गर्दा नेपाली नागरिकले अझ धेरै दुःख पाउने निश्चित छ ।

पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइएको छ । जसमा सन् २०२१ मा ३८, २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना अमेरिकाबाट डिपोर्ट भएका छन् । जनवरी २० देखि अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि मात्रै २३ जना नेपाली डिपोर्ट भएर स्वदेश फर्किसकेका छन् । तर, स्वदेश फर्काइएका उनीहरू ट्रम्प सरकारले नभई जो बाइडेन प्रशासनकै पालामा पक्राउ परेका हुन् । छिमेकी मुलुक भारतमा सङ्कटमा परेका नेपाली विद्यार्थीहरूलाई ३६ घण्टा बितिसक्दा समेत स्वदेश फर्काउन पहल नगरेको सरकारले अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नागरिकलाई कसरी उद्धार गर्ला ? सरकार आफ्ना नागरिकप्रति उत्तरदायी नहुँदा साच्चै नै नेपालीले आफ्नो अभिभावक नभएको महसुस पटक पटक गर्नु परेको छ । सत्तामा बसेकाहरूले कुर्सीको खेलबाट केही फुर्सद निकालेर नागरिकका बारेमा पनि सोच्ने समय मिलाउन् । ताकि नेपाली नागरिकले अमेरिकाबाट फर्काइँदा हत्कडी, नेल र जन्जिर लाएर फिर्ता हुने नियती भोग्न नपरोस् ।।