काठमाडौँ संघीय संसदको आजको बैठकमा भारतको ओडिसामा नेपाली विद्यार्थीको मृत्यु घटनालाई अधिकांश सांसदहरुले आवाज उठाएका छन् । ओडिसास्थित कलिंग इन्स्टिच्युट इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । सो घटनालाई लिएर नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कुटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
संघीय संसदको मङ्गलबारको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा भारतको ओडिसामा नेपाली विद्यार्थीको मृत्यु घटनालाई लिएर सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले भारतको ओडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा भएको नेपाली विद्यार्थीको मृत्यु घटनालाई नेपाल र नेपालीहरूको स्वाभिमानसँग जोडेर सरकारको ध्यानाकर्षण गरेका हुन् । आइतबार साँझ केआईआईटी विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । प्रकृतिको मृत्यु रहस्यमय रहेको भन्दै छानबिनको माग गरेका नेपाली विद्यार्थीहरूमाथि विश्वविद्यालय प्रशासनले गरेको दुव्र्यवहारको समेत सांसदहरुले आलोचना गरेका छन् । विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई होस्टलबाट बाहिर निकालेको विषयलाई लिएर सदनदेखि सडकसम्मै विरोध भएको छ ।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट उठाएर विभिन्न रेल स्टेसनमा लगेर छाडिएको थियो । उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टल फर्कन आग्रह गरेको छ । नेपाली विद्यार्थीमाथि भारतमा भएको दुव्र्यवहारलाई लिएर प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, रास्वपा सांसद मनिष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुवबहादुर प्रधान लगायतले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, शून्य समयमा बोलेका अधिकांश सांसदले ओडिसा घटनाको आलोचना गर्दै सरकारले तत्काल आवश्यक पहल थाल्नु पर्नेमा जोड दिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीको मृत्यु घटनामा न्यायोचित छानबिनको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरूमाथि विश्वविद्यालय प्रशासनले अमानवीय व्यवहार गरेको बताएका छन् । आकस्मिक समयमा बोल्दै उनले त्यस घटनामा कूटनीतिक अक्षमता प्रदर्शन गरिएको उल्लेख गर्दै सरकारको यो कार्यको माओवादीले घोर निन्दा गर्ने बताए ।
सो कलेजका प्रशासकहरूले नेपालीप्रति बोलेको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनु पर्ने न्यूनतम व्यवहार पनि नदेखाएको भन्दै सांसदले आलोचना गरे । सांसदहरुले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् । सरकारले यसबारे कुटनीतिक पहल भइरहेको जनाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं उपसभापति स्वर्णिम वाग्लेले हाक्काहाक्की भ्रष्टाचार गर्ने नेताहरुले खुलेआम हिँडिरहेको भन्दै जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको एक कम्पनीमा पठाइएको दाबी गरे । आयरल्यान्डको १ डलरवाला नक्कली कम्पनीमा सो रकम पठाइएको र त्यहाँबाट दुबई, सिंगापुर, हङ्कङ र अमेरिकामा करिब आजको मूल्य अनुसार ५५ करोड रुपैयाँ भुक्तानी भएको दाबी गरे ।
यस्तै, बैठकमा नेकपा एमाले सांसद सूर्य थापाले रास्वपाप्रति लक्षित गर्दै सहकारी प्रकरणमा सभापति रवि लामिछानेको आफूसँग सबै प्रमाण भएको र उनीमाथि किन कारबाही नगर्ने भन्दै प्रश्न गरे । साथै रास्वपा कार्यकताले कानुनलाई प्रभावित पार्न देशभर प्रदर्शनमा लागि परेको भन्दै उनले केका लागि यो प्रतिशोध साँधेको भन्दै प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरे । सभामुख देवराज घिमिरेले भारतमा नेपाली छात्राको मृत्युको विषयमा सोमबारको बैठकमा सांसदलाई बोल्न नदिएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद किरातीले सदनमा प्रश्न उठाए । मङगलबार सभामुख घिमिरेले ३ पटक बोलाउँदा पनि रास्वपा सांसद सुमना श्रेष्ठले बाल्न दिइएको समयलाई बेवास्ता गरिन् । नेकपा (एमाले) की सचेतक सुनिता बराल बोलिसकेपछि सभामुखले सुमनालाई बोलाएका थिए । ३ पटक बोलाउदाँ पनि उनले नबोलेपछि नेकपा माओवादी सांसद सुशीला श्रीपाइलीलाई समय दिए । वैठकमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताए । सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जीवन जिउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । नेम्वाङले सदनले सुशासन कायम गर्न सम्बन्धित निकाय र ठेक्कावालाहरूलाई कामलाई पूर्णता दिन कडाइका साथ दबाब दिनुपर्ने बताए ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । सदन बैठकमा विशेष समय माग गर्दै सम्बोधन गरेका खड्काले घिसिङको कार्यशैलीमा प्रश्न उठाएका हुन् । मन्त्री खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराए । त्यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले देशमा विद्युतीय विकास उच्च गतिमा भइरहेको सुनाए ।
मन्त्री खड्काले सरकारले अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको दाबी गरे।


प्रतिक्रिया